इजरायलमा बेपत्ता विपिन जोशीको परिवार भावविह्वल

आश्विन ३०, २०८० |हरिश्चन्द्र बाग
इजरायलमा बेपत्ता विपिन जोशीको परिवार भावविह्वल

कञ्चनपुर । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थी 'सिकाइसँगै कमाइ' कार्यक्रमका लागि भदौ अन्तिम साता इजरायल गएका थिए । सोही समूहमा इजरायल गएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी भने घटना भएको दिनदेखि बेपत्ता छन् । उनको घरपरिवारले विपिनको खोजी कार्य गरिदिन अनुनय गरिरहेका छन् । 

हामी यति बेला कञ्चनपुरको महेन्द्रनगरस्थित विपिन जोशीको घरमा पुगेका छौँ । विपिन सिकाइसँगै कमाइ' कार्यक्रममा इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूसँगै गत महिना विपिन पनि इजरायल गएका हुन् । तर अघिल्लो शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिन बेपत्ता भए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

यस खबरले विपिनको घरपरिवारमा सन्नाटा छाएको छ । विपिनकी आमा पदमा जोशीको बोल्दाबोल्दै गला अवरुद्ध हुन्छ । 

विपिन बेपत्ता भएको खबर सुनेदेखि परिवारमा रुवाबासी चलेको छ । विपिनकी हजुरआमा ८४ वर्षीया कल्पना जोशी पनि नाति विपिनको खोजी कार्य गरिदिन हारगुहार गर्छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार धनगढी आउने खबर सुनेपछि उनलाई भेटेरै छोराको खोजी गरिदिन आग्रह गर्न विपिनका बुवा महानन्द जोशी एकाबिहानै धनगढी गए । विपिनको खोज कार्य भइरहेको र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा कूटनीतिक नियोगसँग पनि सहयोग मागेको सरकारले जनाएको छ ।

सम्बन्धित समाचार...

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्ली विमानस्थलमा अवतरण


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।