दार्चुलामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला

कार्तिक ५, २०८१ |मनोज बडू
दार्चुलामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला

दार्चुला । उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरुले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला लगाइदिएका छन् ।  व्यापारीहरुले भन्सार काटेर भित्र्याएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेको विरोधमा पुलमा ताला लगाएका हुन् ।

उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराका अनुसार पटक–पटक प्रहरीले व्यापारीलाई दुःख दिएको भन्दै तालाबन्दीमा उत्रिनु परेको बताउनु भयो । 

'तिनै सुरक्षाकर्मी सामानको भन्सार कटाउन लगाउँछन्, फेरि आफैं व्यापारीको पसल छापा हान्न आउँछन्,' बोहराले गुनासो गर्नुभयो । आइतबार साँझ मात्रै प्रहरीले सदरमुकाम खलंगाको बङ्गाबगड बजारको दुई पसलबाट भन्सार छलीको सामान बरामद गरेको थियो । त्यसकै विरोध स्वरुप व्यापारीहरु तालाबन्दीमै उत्रिएका हुन् ।

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा तालाबन्दी गरेपछि आवतजावत ठप्प भएको छ । पुल बन्द भएपछि नेपाल आएका र भारत गएका मानिसहरु अलपत्र परेका छन् ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।