तिहार नजिकिएसँगै फूलको व्यापारमा व्यस्त गुन्डुका किसान

कार्तिक ५, २०८१ |सुन्दर शिल्पकार
तिहार नजिकिएसँगै फूलको व्यापारमा व्यस्त गुन्डुका किसान

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका गुन्डुका किसानहरुलाई व्यापारीहरुको माग अनुसारको मखमली फूल बेच्न भ्याइनभ्याइ छ। व्यापारीहरु फूल खेती गर्ने किसानको बारीमै पुगेर थोकमै फूल खरिद गरिरहेका छन् ।

दशैँ सकिएलगतै गुन्डुका लक्ष्मी नगरकोटी बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला उन्न व्यस्त हुनुहुन्छ । यसरी बनाएका मखमली फूलको माला लिन व्यापारीहरु उहाँको घरै आइपुग्छन् । त्यसो त यहाँका अधिकांश फूल खेती गर्ने किसानहरुको अहिलेको दिनचर्या लक्ष्मीको जस्तै छ ।

देख्न त गुन्डुका पाखा पुरै मखमली फूलले ढाकिएको छ । जताजतै मखमली नै मखमली फूलले ढाकिएका बारी । कतैकतै सयपत्री पनि ढकमक्क फुलेका । तर अघिल्ला बर्षको तुलनामा यसपालि मखमली फूल कम फूलेको किसान बताउँछन् ।

जसका कारण माग अनुसारको मखमलीको माला दिन नसकिएको उनीहरुको भनाइ छ । मखमलीको माला बेचेरै दशैँ र तिहार सहज रुपमा मनाउँदै आउनु भएकी गुन्डुकी सरिता नगरकोटीले वैशाख महिनामा रोपेको फूलको माला साउन देखिनै उन्न थाल्नु भएको हो । तर अझै माग अनुसार माला उनिसक्नु भएको छैन ।

मखमली फूलको माला जति आकर्षक देखिन्छ, त्यति सजिलो भने छैन मखमली फूल रोप्न । यस फूलमा चाँडै किरा लाग्छ । समय मिलाएर किट्नासक औषधी छर्कनु पर्छ । खर्च पनि उतिकै लाग्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ । अझ यसपालि मनसुन सकिन लाग्दाको भारी वर्षा । यसले धेरै असर गरेको फूल किसानका गुनासो छ ।

विशेषगरी भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै विभिन्न फलफूल, मिठाइ लगायतका उपहार दिने गरिन्छ । अनि कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।