सात दिनपछि लुक्लामा उडान, भित्रिए ११ सय ५५ पर्यटक

कार्तिक ५, २०८१ |भानुभक्त निरौला
सात दिनपछि लुक्लामा उडान, भित्रिए ११ सय ५५ पर्यटक

सोलुखुम्बु । मौसम खुलेसँगै एक सातापछि लुक्ला विमानस्थलमा उडान भएको छ । उडान सुचारु भएपछि आज एकै दिन ११ सय ५५ पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा रोकिएका पर्यटक हवाई मार्ग मार्फत लुक्ला आइपुगेका हुन् ।

आज मन्थली र काठमाडौंबाट तारा, समिट र सिता एयर गरी ३ वटा कम्पनीका ४७ वटा जहाजल उडान भरे । यस्तै विभिन्न कम्पनीका हेलिकोप्टरले १ सय ३० वटा उडान मार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताउनुभयो । विमानस्थल प्रमुख पन्थीका अनुसार सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडानहरु सुचारु गरिएको हो ।

प्लेन मार्फत ५ सय ७५ विदेशी भित्रिएको र हेलिकप्टरबाट ५ सय ८० गरी जम्मा ११ सय ५५ पर्यटक भित्रिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । डीएसपी घिमिरेका अनुसार मन्थलीमा अड्किएर बसेका सबै पर्यटकको उद्धार भइसकेको छ ।

खराब मौसमकै कारण लुक्लामा अड्किएका साढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् । शरद ऋतुको पर्यटकीय सिजनमा मौसम प्रतिकूल भएकै कारण पर्यटकहरु सगरमाथा क्षेत्र जान सकेका थिएनन् ।

आजबाट मौसममा सुधार आएपछि एक दिनमै ११ सय बढी पर्यटक खुम्बु भित्रिँदा पर्यटन उद्योगमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी निमा शेर्पाले बताउनुभयो । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।