सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्‍नी ज्योति गुरुङ र एक अर्का आरोपीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेको छ ।

मितेरी सहकारीको बचत रकम हिनामिना गरेको आरोप लागेकी उपसभापति गुरुङकी पूर्वपत्‍नी ज्योति गुरुङ र एक अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न सीआईबीले इन्टरपोललाई सिफारिस गरेको हो । 

मितेरी सहकारीका सञ्चालकबाट परेको जाहेरी, बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकासँग समन्वय गरेर सीआईबीले ठगी प्रकरणबारे अनुसन्धान गरिरहेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको १४ करोड रकम धनराजकी पूर्वपत्नी गुरुङसहितका व्यक्ति मिलेर अपचलन गरेको आरोपमा सोही सहकारीका बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिनु भएको थियो । उक्त रकम ज्योतिले बैंककमा रहेका अर्का आरोपी ज्योतिबहादुर भण्डारीलाई पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत भदौ ६ गते मितेरी सहकारी सञ्चालक समितिका अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगी प्रकरणमा कांग्रेस नेता गुरुङकी पूर्वपत्नी ज्योतिसहितका व्यक्ति संलग्न भएको र यो विषयमा नेता गुरुङ पनि जानकार रहेको भन्दै संसदीय छानबिन समितिमा खुलाएपछि उक्त प्रकरण बाहिरिएको हो ।

धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् । २०७५ सालमा उनलाई सहकारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । सोही क्रममा उनले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरुको दाबी छ ।

धनराज स्वयंले पनि सहकारीबाट ऋण लिएको स्वीकारी सकेका थिए । सहकारी छानबिन संसदीय विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका नेता धनराज गुरुङसँग पनि बयान लिएको थियो । उनीमाथि पनि छानबिन गर्नुपर्ने माग जारी रहेका बेला सरकारले भने  गुरुङमाथि अनुसन्धान भइरहेको दाबी गरेको छ ।

धनराजकी पूर्वश्रीमती केही वर्षदेखि नै फरार रहेको दाबी गरिए पनि उनी कहाँ छिन् खुलेको छैन ।

यो पनि हेर्नुहोस् :-

सहकारीको रकम अपचलनमा कसरी जोडिए धनराज ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.