पशुपतिको जलहरी प्रकरण : तीन जनाविरुद्ध मुद्दा दर्ता

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिको जलहरी प्रकरण : तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा घोटाला गरको दाबीसहित आइतबार तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पशुपति विकास कोषका सञ्चालक परिषद्का तत्कालीन सदस्य-सचिव डा. प्रदीप ढकाल, बहालवाला कोषाध्यक्ष डा. मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले ढकाल र थापाविरुद्ध एक करोड १७ लाख एक हजार बिगो माग दाबीसहित भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको मुद्दा चलाएको हो ।

त्यस्तै श्रेष्ठमाथि एक करोड १७ लाख १ हजार माग दाबीसहित भ्रष्टाचार मुद्दा चलाइएको छ । तत्कालीन कोषाध्यक्ष थापा हाल पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव छन् ।

ढकाल र थापाको प्रत्यक्ष भूमिकामा सुन हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । उनीहरुले एक किलो ४९१ ग्राम सुन हिनामिना गरेको अख्तियारको ठहर छ । जुन एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा मूल्यबराबरको सुन हो ।

श्रेष्ठले आफूलाई दिएको जिम्मेवारी लापरबाही र बेवास्ता गरी जलहरीमा प्रयोग भएको चाँदी तथा तामा परिमाणमा फरक पारेर सुन हिनामिना, हानि-नोक्सानी र दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

जलहरीमा एक सय एक दशमदव ०४८५ किलोग्राम मात्र सुन प्रयोग भएको अभियोग पत्रमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले पशुपतिमा सुनको जलहरी राख्न निर्णय गरेपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो भने कोषले नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३ दशमलव १ ग्राम सुन किनेको थियो ।

२०७७ साल फागुनमा पशुपतिको गर्भगृहमा सुनको जलहरी राखिएको थियो। गएको असारमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले जलहरीमा प्रयोग भएको सुनको परिणाम परीक्षण गरेको थियो ।

यो पनि...

जलहरी परीक्षणपछि अख्तियार नै अन्योलमा !

जलहरीमा नाम लेखिनु स्वभाविक : अध्यक्ष ओली

पशुपतिको जलहरीमा भएको भनिएको अनियमितताबारे अनुसन्धान जारी छ : अख्तियार


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.