काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ८ दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
चीनको औपचारिक भ्रमण सकेर फर्किएका दाहाललाई सिचुवान प्रान्तका उपगभर्नरसहितको टोलीले छेन्दु विमानस्थलबाट बिदाइ गरेको हो ।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उच्च पदस्थ कर्मचारीहरूसहितको टोलीले स्वागत गरेको छ । उनको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामीसमेत अर्पण गरेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका दाहाल न्युयोर्कबाटै चीन गएका थिए । त्यहाँ उनले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।