काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ४ गते ६० किलोभन्दा बढी सुन तस्कर गर्ने गिरोहले ३६२ दशमलव ७७८ किलोग्राम सुन तस्करी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पुष्टि गरेको छ । यस गिरोहले तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मूल्य बराबरको सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको हो ।
अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनु अघि गरेको पत्रकार सम्मेलनमा सुन तस्करी गर्न सातवटा कम्पनी खोलिएको सीआईबीले जानकारी दिएको छ । गिरोहले सुन गाल्न टोखा र लाजिम्पाटका दुई स्थान प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै गिरोहका ५ विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता र राहदानी लिएको पुष्टि भएको सीआईबीको दाबी छ ।
यस प्रकरणमा सीआईबीले १८ फरारसहित ५० जना प्रतिवादी बनाएर मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । जसमा २३ जना विदेशी नागरिक छन् ।
प्रतिवादीहरुलाई भन्सार ऐन २०६४, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५, संगठित निवारण ऐन, मुलुकी अपराध संहिता २०७४ को दफा ४३, नेपाली नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन बमोजिम मुद्दा चलाउने पर्ने सीआईबीको निष्कर्ष छ ।
यो पनि :
६० किलो सुन काण्ड : २३ विदेशीसहित ५० जना संलग्न, तीन अर्ब बिगो माग
को–को पक्राउ परे ?
राजस्व अनुसन्धान विभागले गत साउन २ गतेदेखि २१ गतेसम्म आफैँले अनुसान्धन गरेको थियो । जसमा १६ जना पक्राउ गरेको थियो ।
सुरुवातको १९ दिन अनुसन्धान गरेर राजस्वले आपराधिक कार्य र संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीको सीआईबीलाई जिम्मा लगाएको थियो । सीआईबीले थप १६ जनालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार यस प्रकरणमा संलग्न रहेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्गो एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका छन् ।
त्यस्तै, भाषा अनुवादक र कोठा खोज्ने काम गर्ने एक, कम्पनी खोल्ने २, सामान व्यवस्थापन गर्ने २ र कारोबारमा संलग्न ११ जनालाई पक्राउ परेका छन् ।