राष्ट्रिय महिला तथा पुरूष हक्की प्रतियोगिता : आर्मीद्वारा मधेश पराजित

वैशाख १९, २०८२ |खेल ब्युरो
राष्ट्रिय महिला तथा पुरूष हक्की प्रतियोगिता : आर्मीद्वारा मधेश पराजित

काठमाडौं । राष्ट्रिय महिला तथा पुरूष हक्की प्रतियोगितामा आर्मी क्लबले मधेश प्रदेशलाई १०-१ ले हराएको छ। पुरूषतर्फ आजको दोस्रो खेलमा कर्णालीले बागमती प्रदेशलाई २-१ ले हराएको छ। यता, महिलातर्फको खेलमा भने गण्डकी २-१ ले विजयी भएको छ ।

आजको पहिलो खेलमा मनोज चौधरीले हृयाट्रिक गरेपछि आर्मी क्लबले मधेश प्रदेशमाथि फराकिलो जित दर्ता गरेको हो । खेलको सुरूआतबाटै आर्मीले दबदबा बनाएपछि पहिलो क्वार्टरमा आर्मी ४-०ले अगाडि रहेको थियो । 

दोस्रो क्वार्टरमा मनकेश्वरप्रसाद शाहले एक गोल फर्काए पनि आर्मीले ६-१ को अग्रता बनाउन सफल भयो। त्यसपछि एकतर्फी प्रदर्शन गरेर आर्मी जितसम्म पुग्यो। अर्को खेलमा १-० गोलको अग्रता जोगाउन नसक्दा बागमती प्रदेश कर्णालीसँग पराजित भयो। 

प्रेम भण्डारीले दोस्रो क्वार्टरमा खेललाई बराबरीमा ल्याएका थिए। तेस्रो क्वार्टरमा जीवन रावतले गोल गरेर कर्णालीलाई जित दिलाएका हुन्। जारी प्रतियोगिताका कर्णालीको यो पहिलो जीतसमेत हो।

आजै भएको महिलातर्फको खेलमा भने मायुरी राईको दुई गोलको सहयोगमा गण्डकीले दोस्रो जीत हाँसिल गर्‍यो । चौथो क्वार्टरमा गीता कुमारीले एक गोल फर्काए पनि मधेशले नतिजा उल्ट्याउन सकेन् । यससँगै गण्डकी विजयी भएको हो ।