केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह

वैशाख १९, २०८२ |किरण पौडेल
केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी-केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारले आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको हो । घटनाका विषयमा समन्वय गरिरहेको उल्लेख गर्दै परराष्ट्रले परिवारप्रति समवेदना व्यक्त गरेको छ । 

यसअघि परराष्ट्रमन्त्री आरजु राणाले हिजै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत् घटनाको सत्य तथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको जनाउनुभएको थियो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि केआइआइटीमा रहेका नेपाली विद्यार्थी, भारतको केन्द्र सरकार तथा ओडिसाको मुख्यमन्त्री कार्यालयसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गरेको छ । राजदूत शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माँझी तथा प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी निष्पक्ष छानबिनका लागि अनुरोध गरेको दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि घटनाको विस्तृत अनुसन्धान गरिरहेको उल्लेख गर्दै भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र सर्वोपरी हितका सन्दर्भमा निकै सम्वेदनशील रहेको जनाएको छ ।

मन्त्रालयले घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र ओडिसा सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको जनाएको छ । हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको पनि भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययनरत वीरगञ्ज निवासी प्रिशा साह हिजो साँझ ८ बजे कलेजको चौथो तलामा रहेको छात्राबासमा मृत भेटिएकी हुन् । करिब साढे ७ बजे नियमित अनुगमनका क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सन्जीव शर्माले बताउनुभयो ।

यस्तै भारतको ओडिसा राज्य सरकारले पनि घटनाबारे छानबिन र अनुसन्धान सुरू भएको जनाएको छ । ओडिसाका कानुनमन्त्री पृथ्वीराज हरिचन्दनले घटनाबारे कानुनी प्रकिया सुरू गरिसकेको उल्लेख गर्दै राज्य सरकार न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उहाँले अनुसन्धानका क्रममा विद्यार्थीको सुरक्षा, मानसिक स्वास्थ्य र संस्थागत जवाफदेहीसहित सबै पक्षबारे गहन अनुसन्धान हुने जानकारी दिनुभएको छ । अनुसन्धानपछि दोषीलाई दण्डित गरिने उहाँको भनाइ छ ।

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले विज्ञप्ति निकाल्दै उचित अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेको छ ।

विश्वविद्यालयमा रहेका विद्यार्थीका अनुसार गर्मीको बिदा भएकाले धेरैजसो विद्यार्थी घर गएका छन् । पहिलो वर्षको परीक्षा भने चलिरहेको छ । मृतक शाह पनि बि-टेक पहिलो वर्षकै विद्यार्थी हुन् । 

यसअघि, केआईआईटीमामै अध्ययनरत रूपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् । प्रकृति लम्सालको मृत्युको घट्नामा एक जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको छ । त्यस घटनापछि ओडिसा राज्य सरकारले उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।