काठमाडौं । अमेरिकी उपराष्ट्रपति जे डी भ्यान्सले कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणका जिम्मेवार लडाकुलाई खोज्न र पक्राउ गर्न भारतलाई पाकिस्तानले सहयोग गर्नेमा वासिङ्टन आशावादी रहेको बताउनुभएको छ । पहलगाममा भएको आक्रमणमा संलग्न लडाकुहरू पाकिस्तान नियन्त्रित क्षेत्रमा आधारित रहेको भ्यान्सको भनाई छ ।
साथै उहाँले उक्त आतंककारी आक्रमणविरूद्ध भारतले चाल्ने कारवाही वृहद क्षेत्रीय द्वन्द्वमा परिणत नहुन पाओस भन्दै नयाँ दिल्लीलाई संयमता अपनाउन आग्रह गर्नु भएकोछ ।
फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा भ्यान्सले यस्तो आग्रह गर्नु भएको हो । एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी कश्मिरको पहलगाममा आतंककारी आक्रमण हुँदा उपराष्ट्रपति भ्यान्स सपरिवार भारतमै हुनुहुन्थो ।
अप्रिल २२ मा भएको उक्त आक्रमणपछि नै भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । यसले कतै युद्धको रूप लिने त होइन भन्ने आशंका उब्जिएका छन् ।
बुधवार विहानै पाकिस्तानी सञ्चारमन्त्रीले २४ देखि ३६ घण्टाभित्र भारतले पाकिस्तानमाथि सैन्य कारवाही गर्न सक्ने विश्वस्त गुप्तचरी सूचना रहेको बयान दिएपछि उक्त आशंकालाई थप बल मिलेको थियो ।
यी दुई परम्परागत शत्रु राष्ट्रबीचको द्वन्द्व नभड्कियोस भन्नका लागि अमेरिकाले दुवै देशमाथि कूटनीतिक दबाब सिर्जना गरिरहेको छ । बुधवार राती नै अमेरिकी विदेशमन्त्री मार्को रूबियोले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र भारतीय विदेशमन्त्री एस जयशंकरसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरी शान्तिका लागि मिलेर काम गर्न आग्रह गर्नुभएको थियो ।
रूबियोले पाकिस्तानलाई पहलगाम घटनाको अनुसन्धानमा सघाउन आग्रह गर्नुका साथै दुवै देशलाई एक आपसमा संवाद कायम राख्न आग्रह गर्नुभएको थियो । यस्तै बिहीबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथ भारतीय समकक्षी राजनाथ सिंहसँग पनि यसै विषयमा टेलिफोन संवाद गर्नुभएको थियो ।
अप्रिल २२ को घटनायता पाकिस्तानी सेना र भारतीय सेनाबीच नियन्त्रण रेखा लाइनअफ कन्ट्रोल वरपर छिटपुट गोली प्रहारका घटना हुँदै आएका छन् ।