दुई सार्वजनिक प्रसारण संस्थालाई दिइँदै आइएको सहायता रोक्का गर्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

वैशाख १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दुई सार्वजनिक प्रसारण संस्थालाई दिइँदै आइएको सहायता रोक्का गर्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले दुई सार्वजनिक प्रसारण संस्थाहरू 'पब्लिक ब्रोडकास्टिंग सर्भिस-पीबीएस' र 'नेशनल पब्लिक रेडियो-एनपीआर'लाई दिइँदै आइएको सबैप्रकारको संघीय आर्थिक सहायता रोक्का गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

ट्रम्पले दुवै संस्था पूर्वाग्रही र पार्टीगत समाचार सम्प्रेषणमा संलग्न रहेको आरोप लगाउनु भएको छ । ट्रम्पद्वारा हस्ताक्षरित कार्यकारी आदेशमा सरकारी अनुदान प्रदायक संस्था 'कर्पोरेशन फर पब्लिक ब्रोडकास्टिङ्ग-सीपीबी'लाई ती दुई संस्थालाई अब उप्रान्त सरकारी अनुदान नदिन निर्देशन दिइएको छ । 

हृवाइट हाउसले समाचार माध्यमलाई अनुदान दिने काम अप्रचलित र अनावश्यक मात्र नभई स्वायत्त पत्रकारिताको अनुहारका लागि क्षयकारी भएको उल्लेख गरेकोछ । ट्रम्पले संघीय सहयोगमा रोक लगाएका यी दुवै संस्था आंशिक रूपमा अमेरिकी करदाताको आर्थिक सहायतामा चल्ने तर ठूलो मात्रामा भने निजी क्षेत्रबाट प्राप्त हुने आर्थिक सहायतामा आधारित रहेको द गार्जियनले उल्लेख गरेकोछ ।

प्रत्येक साता चार करोडभन्दा बढी अमेरिकीले एनपीआर रेडियो सुन्ने गरेको र प्रतिमहिना तीन करोड ६० लाख अमेरिकीले पीबीएस नेटवर्कद्वारा संचालित स्थानीय टेलिभिजन हेर्ने गरेको बीबीसीले उल्लेख गरेकोछ ।

यसअघि मार्चमा ट्रम्पले संघीय सरकारको आर्थिक अनुदानमा संचालित आठ दशक पुरानो अन्तर्राष्ट्रिय समाचार सेवा 'भ्वाइस अफ अमेरिका'लाई दिइने सहायता रोक्का गर्नुका साथै सो संस्था नै भंग गर्ने आदेशमा हस्ताक्षर गनुभएको थियो । यद्यपि अदालतले यस विरुद्ध निषेधाज्ञा जारी गर्दै तत्कालका लागि सो संस्थामा कार्यरत १२ सयभन्दा बढी पत्रकार र अन्य प्राविधिकलाई जागिरबाट बर्खास्त गर्नमा रोक लगाएको छ ।

यसैबीच मिडिया अधिकारसम्बन्धी समूह आरएसएफले ट्रम्पको शासन कालमा अमेरिकामा प्रेस स्वतन्त्रतामा डरलाग्दो ह्रास आएको र यसले सरकार निरंकुशतातर्फ बढिरहेको संकेत गरेको भन्दै चेतावनी दिएको छ ।