काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।
विभागले बिहीबार विभागकै अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।
विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको जानकारी दिए ।
मंगलबार विमानस्थल भन्सारबाट जाँचपास भएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भइरहेको प्रवक्ता खड्काले जनाए । जाँचपासमा अधिकृत सन्तोष चन्द र कुमार ढकाल संलग्न रहेका थिए । अनुसन्धानको क्रममा हालसम्म ६ जना पक्राउ परेका छन् ।
भन्सार जाँचपास भएर भन्सार परिसरबाट बाहिरिन लागेको ट्याक्सीबाट उक्त सुन राजस्वको टोलीले बरामद गरेको थियो । विशेष सूचनाको आधारमा केही दिन अगाडिदेखि नै २/३ वटा टोलीलाई परिचालन गरिएको र मंगलबार साँझ उक्त सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
परीक्षणबाट बरामद भएको उक्त पहेँलो धातु सुन प्रमाणित भएको र त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।
सम्बन्धित समाचार...
सय किलो सुन प्रकरण : जाँचपास गर्ने विमानस्थल भन्सारका कर्मचारीलाई निलम्बन गरिने