सिनामंगलमा दिउँसो ‘बम’ को आतंक, राति सुनको

श्रावण ४, २०८०
सिनामंगलमा दिउँसो ‘बम’ को आतंक, राति सुनको

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकै पर्छ सिनामंगल । यहाँ बुधबार दिउँसो एउटा सुन पसल अगाडि बम राखेको हल्ला चलेपछि नेपाली सेनाको टोली बम डिस्पोज गर्ने सामग्री लिएर पुग्यो । हेर्ने मानिसहरुको घुँइचोबाट एक व्यक्तिलाई प्रहरीले पक्रेर लग्यो । यही सिनामंगलमा मंगलबार राति १० बजे अहिलेसम्मकै ठूलो परिणाममा राजस्व अनुसन्धान विभागले दुईवटा ट्याक्सीबाट सुन बरामद गरेको थियो, जुन कुरा दिउँसो बमको हल्ला चल्दासम्म गुपचुप थियो ।

मंगलबार राति नै भन्सारका कर्मचारी र प्रहरीबाट पार गराएर बाहिरिएको सुन राजस्व अनुसन्धानले समातेपछि हाम्रो त्रिवि भन्सारको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन बरामद भएको राजस्व अनुसन्धानका अधिकारीहरुले जनाएका छन् । तर, ठूलो परिणाममा रहेकाले कति सुन बरामद भएको हो भनेर अझै हिसाब निकाल्न बाँकी रहेको अधिकारीहरुको भनाइ छ ।

आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ ।

मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भत्र्याएको ८८ केजी सुन काठमाडौंको क्षेत्रपाटीबाट समातिएको थियो ।

उक्त सुन बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको थियो । विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरी पैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त गरेको थियो ।

तस्बिर : बुधबार सिनामंगलस्थित एक सुन पसल अगाडि शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजाञ्ची पासवान

मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका छन्। पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ । 

सुन बरामदको घटना मंगलबारको भए पनि यो प्रकरण भने बुधबार साँझ मात्र सार्वजनिक भयो। घटना सार्वजनिक हुन लामो समय लाग्नुमा अधिकारीले दुई तर्क गरेका छन् ।

पहिलो– बरामद गरिएको सामग्री सुन हो कि हैन भन्ने छुट्याउन, स्याम्पल टेस्ट गरेर पुष्टि गर्न समय लागेको जनाइएको छ । दोस्रो– तस्करीसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्नका लागि पनि घटना बाहिर ल्याउन नहुने भएकाले दुवै विषय निश्चित भएपछि बुधबार अनौपचारिक रूपमा घटना सार्वजनिक गरिएको राजस्वका अधिकारीको भनाइ छ ।

तस्कर गिरोहले सुन, विदेशी मुद्रालगायत अवैध वस्तु ओसारपसार गर्दा चेकजाँचमा कडाइ हुन नसकेपछि विमानस्थल भन्सार क्षेत्रमा प्रहरी उपस्थिति पनि गराउनुपर्ने माग उठिरहेको छ । तर, भन्सारले प्रहरी खटाउन मानेको छैन । त्यसको लाभ गिरोह र कतिपय अवस्थामा भन्सारकै कर्मचारीले उठाइरहेका छन् ।

हङकङबाट ल्याइएको ठूलो परिमाणको उक्त सुन भन्सार पार गरेर सिनामंगलको सडकसम्म पुर्‍याइएको थियो । सामान शंकास्पद रहेको सूचनाका आधारमा विमानस्थल पुगेको राजस्व अनुसन्धान विभागको टोली उक्त सुन बरामद गरेको हो ।

भन्सार जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन् । यसपछि अन्य तीन जना पक्राउ परेका हुन् । थप योजनाकारको खोजी भइरहेको विभागले जनाएको छ । ठूलो परिमाणमा सुन बरामद भएपछि भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।

यो पनि...

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

सिनामंगलमा शंकास्पद वस्तु राख्ने सन्दिग्ध व्यक्ति पक्राउ, सेनाको टोलीद्वारा निष्क्रिय


Enter Kantipur TV HD
Advertisement