बाँकेमा महिलालाई जबर्जस्ती करणी, प्रहरीले लिन मानेको छैन जाहेरी

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाँकेमा महिलालाई जबर्जस्ती करणी, प्रहरीले लिन मानेको छैन जाहेरी

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ कि एक ३५ वर्षीया महिलामाथि माघ ६ गते राति अन्दाजी ८ बजे घरभित्रै जबर्जस्ती करणी भएको छ । करणीका पीडकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा नलिँदा ज्यान असुरक्षित भएको पीडितले बताउनुभएको छ ।

पीडकले बारम्बार फोन मार्फत धम्की दिँदै आएको पीडित महिलाको भनाइ छ । यता पीडितको जाहेरी बाँके प्रहरीले लिन मानेको छैन । पीडित महिलाका अनुसार उनलाई उल्टै धम्क्याएर पठाउने गरिएको छ ।

पीडित महिलाले प्रहरी समक्ष हारगुहार गर्न थालेको १० दिन भयो । तर उजुरी लिन प्रहरीले मानेको छैन । पीडकले गरगहना र पसलबाट पैसा समेत लुटेर लगेको उनले बताएकी छन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बाँके प्रहरीलाई पीडित महिलाको उजुरी तत्काल दर्ता गरी करणी, कुटपिट र लुटपाटमा संलग्नलाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको एक प्रहरी अधिकारीले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता आयुश जोशीले यसबारे मुद्दा फाँटले हेरिरहेको र प्रक्रियामै रहेको भन्दै आज कार्यालय खुलेपछि मात्र अन्य प्रक्रिया अघि बढने जानकारी दिनुभएको छ । 

जबकि पीडित महिला उजुरी लिएर प्रहरी कार्यालय धाउन थालेको यत्तिका दिन भइसकेको छ । घटनामा संलग्नलाई राजनीतिक र प्रशासनिक संरक्षण भएकाले प्रहरीले आलटाल गर्दै आएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement