बाँके । नेपालगन्जमा महिलालाई जबर्जस्ती करणी गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ । गृहमन्त्री रमेश लेखकले बाँके प्रहरीलाई आरोपीलाई नियन्त्रणमा लिन आदेश दिनुभएको हो ।
आज प्रतिनिधि सभाको बैठक बस्नुअघि महिला सासंदहरूले जबर्जस्ती करणी गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न गृहमन्त्रीलाई आग्रह गरेपछि मन्त्री लेखले बाँके प्रहरीलाई यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्रीको निर्देशनपश्चात् प्रहरीले हिजोको मिति राखेर जाहेरी दर्ता गरेको छ । आजै अदालतबाट पक्राउपुर्जी लिइने बताइएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ कि एक ३५ वर्षीया महिलामाथि गत माघ ६ गते राति अन्दाजी ८ बजे घरभित्रै जबर्जस्ती करणी भएको थियो । पीडकले बारम्बार फोन मार्फत धम्की दिँदै आएको र प्रहरीले जाहेरी पनि लिन नमान्दा आफू असुरक्षित महसूस गरेको पीडित महिलाले बताउनुभएको थियो ।
१० दिनदेखि हारगुहार गर्दा पनि प्रहरीले उजुरी लिन मानेको थिएन । यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पनि बाँके प्रहरीलाई पीडित महिलाको उजुरी तत्काल दर्ता गरी करणी, कुटपिट र लुटपाटमा संलग्नलाई नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो ।