संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन- अध्यादेशले व्यवसायीहरु उत्साहित छन्

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन- अध्यादेशले व्यवसायीहरु उत्साहित छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पटकपटक विश्वासको मत लिने अवस्थाको अन्त्य भएको बताउनुभएको छ ।

आजदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक र जनतालाई तिरस्कार गर्दै सत्तामा खेलिरहने स्थितिको अन्त्य भएको दाबी गर्नु भयो । 

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो प्राथमिकता थालेको काम सक्ने भएकाले त्यो काम अघि बढेको बताउनुभयो । उहाँले काठमाडौं तराई द्रुत मार्ग अन्तर्गतको मकवानपुरको धेद्रे सुरुङ 'ब्रेक थ्रु' भएको जानकारी दिनु भयो ।

त्यसैगरी, चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी-किमाथाङ्का सडकमार्गसँगै बुटवल-नारायगढ सडक खण्ड निर्माणको काम द्रुत अघि बढेको दाबी गर्नु भयो । उहाँले धुलो उडिरहेको मुग्लिन-पोखरा सडक चिल्लो भएको र कीर्तिपुरको खेल मैदानलाई रङ्शाला बनाउने र फ्लडलाइट जोड्ने निर्णयको टेण्डर आह्वान भएको र समयमै सक्ने गरी काम अघि बढेको बताउनु भयो ।

सरकारले ल्याएको अध्यादेशमा विपक्षी दलले अध्यादेशको विषयवस्तुमा नभई प्रक्रियामा विरोध गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । अहिलको अध्यादेशले व्यवसायीहरु उत्साहित भएको प्रधानमन्त्री ओलीले दाबी गर्नु भयो । 

प्रधानमन्त्री ओलीले अब ६० दिनभित्रै कानुन बनाउने व्यवस्था गर्न आग्रहसमेत गर्नुभयो । ९० दिनसम्म सरकारले ल्याएको विधेयक कानुन बन्न सकेन भने सरकारले वैकल्पिक बाटो रोज्ने उहाँको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्नेमा जोड दिनु भयो । यसका लागि संविधान र कानुनमा संशोधन गरेर जानुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, 'संविधानको रिभ्यु गर्ने बेला भएको छ । राजनीतिक स्थायित्वका लागि विभिन्न पक्षसँग छलफल गरेर जानेछौं । सरकारले साझा धारणा बनाएर संविधान संशोधन गर्छ ।'

उहाँले पार्टी टुक्र्याउने र भत्काउने खेल कांग्रेस-एमालेसहितको यति बलियो सरकारको प्राथमिकतामा नरहेको बताउनु भयो । सरकार ढल्न लागेको भनेर विपक्षीहरुले व्यर्थ समय खेर फालेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, 'यो सरकार ८४ सम्म जानेमा ढुक्क हुन आग्रह गर्छु ।' 

प्रधानमन्त्री ओलीले झुटा लञ्छना लगाउने काम यो अधिवेशनमा नहोस् भन्दै सरुकारलाई गम्भीर सुझाव दिन आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.