काठमाडौं । सरकारले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ । विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
रिहा हुने मिति यकिन नभए पनि विपिन सुरक्षित आउनेमा विश्वस्त रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ । यसैबीच, विपिनका परिवारका सदस्य पनि काठमाडौं आइपुगेका छन् । बुधबारबाट हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा विपिनको पनि नाम रहेको भन्दै समाचारहरू आएपछि आफूहरू काठमाडौं आएको बुवा महानन्द जोशीले जानकारी दिनुभयो ।
रिहा हुने औपचारिक जानकारी नेपाल सरकार र नेपालस्थित इजरायली दूतावासबाट नआए पनि आशा पलाएको र भाइलाई लिएर फर्किने चाहना भएको विपिनका दाइ किशोर बताउनुहुन्छ ।
काठमाडौंमा रहँदा राष्ट्रपति, परराष्ट्रमन्त्री लगायतका उच्च पदाधिकारीहरूसँग भेट्ने परिवारको तयारी छ । हमासले बन्धक बनाएका थाइल्यान्ड लगायत धेरै देशका नागरिक रिहा भइरहेकाले विपिनका लागि पनि नेपाल सरकार र अन्य क्षेत्रबाट हमास र इजरायलको युद्धविराम गराउने देश मार्फत् पहल गर्नुपर्ने परिवारको आग्रह छ । डेढ वर्षदेखि छोराको प्रतीक्षा गरिरहेकाले कुनै पनि बेला युद्धविराम भंग हुन सक्ने चिन्ता उहाँहरूको छ ।
२०८० असोज २० गते इजरायलमा आक्रमण गरेको हमासले विपिन सहित २४० भन्दा बढीलाई बन्धक बनाएको थियो । सोही आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो भने विपिनको अवस्था अज्ञात नै रहेको थियो ।
यसैबीच इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले इजरायली अधिकारीहरूले 'विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनु' भनेको बीबीसीलाई बताउनुभएको छ ।