सय किलो सुन प्रकरण : जाँचपास गर्ने विमानस्थल भन्सारका कर्मचारीलाई निलम्बन गरिने

श्रावण ४, २०८० |कान्तिपुर टीभी संवाददाता
सय किलो सुन प्रकरण : जाँचपास गर्ने विमानस्थल भन्सारका कर्मचारीलाई निलम्बन गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब एक क्विन्टल अवैध सुन जाँचपास गराउने कार्यमा संलग्न कर्मचारीमाथि भन्सार विभागले कारबाही प्रक्रिया थालेको छ ।

स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट भन्सार जाँचपास भएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

भन्सारका अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले ब्रेक सुको नामबाट मंगलबार जाँचपास गरेका थिए । जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्णमा जिम्मवार हुने भएकाले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । जाँचपासको सामान बाहिर लैजान गेटपास पनि जाँचकीले नै बनाउनुपर्छ ।

साथै विभागले उक्त घटनाका विषयमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलको नेतृत्वमा आज बिहान भएको छलफलमा उक्त निर्णय भएको हो । विभागले जाँचपासमा संलग्नबाहेक अन्य कर्मचारीको संलग्ताका विषयमा पनि छानबिन गर्ने भएको छ । यस घटनाका विषयमा थप विवरण संकलन गर्न सीसीटीभी फुटेजमार्फत पनि अनुसन्धान अगाडि बढाइएको छ ।

जाँचपासपछि मंगलबार साँझ ट्याक्सीमा राखेर विमानस्थल भन्सार बाहिर पु¥याएको सुन राजस्व अुनसन्धान विभागले बरामद गरेको थियो । विशेष सूचनाको आधारमा भन्सार परिसर पुगेको राजस्वको टोलीले ट्याक्सी चालकसहति तत्काल दुई जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धानको क्रममा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । अनुसन्धान जारी रहेको र मुख्य योजनाकारको खोजी भइरहेको विभागले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement