काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा भन्सार छली गरी ल्याएको सुन बरामद भएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको ८० केजीभन्दा बढी सुन बरामद भएको हो । बरामद भएको सामान राजस्व अनुसन्धान विभागको कार्यालय हरिहरभवन लगिएको छ ।
विमानस्थल स्रोतका अनुसार मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको हो । स्रोतले भन्यो, ‘सुन विभिन्न सामानको रुपमा छ । ८० किलोग्रामभन्दा बढी सुन भेटिएको छ ।’
त्रिभुवन विमानस्थल भन्सार कार्यालका अनुसार बरामद भएको सामान विमानस्थलको रेकर्डमा रेडी लिङ्क बुढानिलकण्डको नाममा रहेको छ । यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ भने मुख्य मालिकको खोजी भइरहेको छ ।