काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । साथै प्रहरीले सन्दिग्ध एकजनालाई पक्राउसमेत गरेको छ ।
सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलको सटर अगाडि बुधबार बिहान भेटिएको उक्त वस्तुलाई सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा भेटिएको थियो । पर्चामा आरडीएक्स बारुदको बम राखिएको उल्लेख गर्दै सावधान रहन भनिएको थियो ।
पर्चामा खोटाङ हलेसी ज्वेलर्सको सञ्चालकलाई सम्बोधन गर्दै पार्टीलाई सहयोग गर्न भनिएको छ । उक्त ज्वेलर्सका सञ्चालक मने विश्वकर्माले आफूलाई पैसा माग्दै पटक पटक फोन आएको जानकारी दिएका छन् । आफूलाई नगद पाँच लाख मागेको र नदिए बम राखिदिने धम्कीसमेत आएको जनाएका छन् ।
सन्दिग्ध व्यक्ति पक्राउ
प्रहरीले उक्त शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ती व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन । प्रहरीले आजै उनलाई सार्वजनिक गर्ने जनाएको छ ।