अन्नपूर्ण हिमाल आरोहण सुरु भएको ७३ वर्ष पुगे पनि सधैं ओझेलमा

जेष्ठ २०, २०८० |इन्द्र पौडेल|ऋषिकान्त पौडेल
अन्नपूर्ण हिमाल आरोहण सुरु भएको ७३ वर्ष पुगे पनि सधैं ओझेलमा

पोखरा । आज जुन ३ अर्थात अन्नपूर्ण पर्वतारोहण दिवस । सन् १९५० मा आजकै दिन पहिलोपटक आठ हजार मिटर अग्लो हिमाल अन्नपूर्णमा मानव पाइला परेको थियो । आरोहण इतिहासको ७३ वर्ष बिते पनि आरोहण सङ्ख्याको अनुपातमा अन्नपूर्ण हिमाल सधैं ओझेलमा पर्दै आएको छ ।

सगरमाथा आरोहणभन्दा ३ वर्षअघि सन् १९५० मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलोपटक आरोहण आरम्भ भएको थियो । त्यसयता सर्वोच्च शिखर सगरमाथामा झण्डै ८ हजारभन्दा बढीले आरोहण गरीसक्दा इतिहास बोकेको अन्नपूर्णमा भने आरोहीको संङख्यो पाँच सय पनि पुग्न सकेको छैन । राज्यको उपेक्षा, बनावटको अनभिज्ञता, उचित प्रचारको अभावमा सम्भावना भएर पनि अन्नपूर्ण हिमश्रृङखला आरोहणको प्राथमिकतामा पर्न सकेको छैन ।

मुलुक संघीयतामा गएपछि गण्डकी प्रदेशले एकल अधिकार र साझा अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेको छ । त्यस्तै प्रदेश समृद्ध बनाउने भन्दै आन्तरिक श्रोतको पहिचान, पर्यटनमा लगानीजस्ता नारा पनि वर्षैपिच्छे घन्किरहन्छ । तर आफ्नै प्रदेशभित्र रहेको हिमाल आरोहणका लागि स्वदेशी र विदेशीलाई प्रोत्साहन र प्रचार गर्न नसक्दा अन्नपूर्णमा अपेक्षाकृत आरोहण बढाउन सकिएको छैन ।

विगत केही वर्षयता अन्नपूर्ण हिमालको प्रथम आरोहणको सम्झनास्वरुप अन्नपूर्ण दिवस मनाइन थालिएको छ । तर शहरी क्षेत्रमा गरिने औपचारिक कार्यक्रमले यसको इतिहास र विषेशतालाई उल्लेख्य प्रचार गर्न सकेको छैन ।

गण्डकी प्रदेशभित्र आठहजार मिटर बढी अग्ला तीन हिमाल छन् । यी हिमालको आरोहण संख्या बढाउन सके पर्यटनमा थप सहयोग पुग्ने निश्चित छ । यसका लागि संघ सरकार मातहत रहेको आरोहण अनुमती पत्र दिने अधिकार प्रदेशमा हस्तान्तरण हुन जरुरी छ ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement