काठमाडौं । इन्टर मिलान चौथो जित हात पार्दै यूएफा च्याम्पियन्स लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा इन्टरले लाइपजिगलाई एक-शून्य गोलले पराजित गरेको हो ।
इटालीको मिलानस्थित सान सिरोमा २७ औं मिनेटमा इन्टरले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । फेडेरिको डिमाक्रोको फ्रि किकमा लाइपजिगका डिफेन्डर क्यास्टेलो लुकेबाले आफ्नै पोस्टमा गोल गरेका थिए । कप्तान लौतारो मार्टिनेज घरेलु टोलीको लागि दोस्रो गोलको नजिक पुगेका थिए ।
तर लाइपजिग क्लियर गर्न सफल भयो । दोस्रो हाफमा पनि डेन्जेल डम्फ्रिजले टिमका लागि गोल थप्ने मौका गुमाए । लाइपजिगले अन्तिम समयमा दबाब बनाए पनि इन्टरको डिफेन्सलाई तोड्न सकेन् । इन्टरको पाँच खेलबाट १३ अंक छ ।
बार्सिलोनाले पनि ब्रेस्टमाथि तीन-शून्य गोलको जित हात पारेको छ । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीका लागि यो खेल विषेश रह्यो । उनी च्याम्पियन्स लिगमा एक सय गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले दशौं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई एकशून्यले अघि राखेका थिए । योसँगै उनले च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरे ।
उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डोले १ सय ४१ र लियोनल मेसीले १ सय २९ गोल गरेका छन् । ६६ औं मिनेटमा डानी ओल्मोले अग्रता दोब्बर पारे । ओल्मोको युरोपियन एलिट प्रतिस्पर्धामा यो पहिलो गोल हो । इन्जुरी समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्साले सहज जित हात पारेको हो ।
दोस्रो स्थानमा उक्लिएको बार्साको १२ अंक छ । अर्को खेलमा एट्लेटिको मड्रिडले स्पार्टालाई छ-शून्य गोलको फराकिलो अन्तरले पराजित गर्यो । एट्लेटिको जितमा युलियन अल्भारेज र एंखल कोयराले दुई-दुई तथा मार्कोस लोरेन्ट र एन्टोइन ग्रिजमनले एक एक गोल गरे । बायर लिभरकुसेनले साल्जबर्गलाई पाँच-शून्य, एटालान्टाले योङ ब्वाइजलाई ६ एक र एसी मिलानले स्लोभानलाई तीन दुइ गोलले पराजित गरेका छन् ।