च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र फाइनडको ३-३ गोलको बराबरी

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र फाइनडको ३-३ गोलको बराबरी

काठमाडौं । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी नेदरल्यान्डस्‌को फाइनडसँग तीन-तीन गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटीले तीन-शून्यको अग्रता जोगाउन सकेन ।

इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले ४४ औं मिनेटमा अर्लिङ हालान्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा सिटी यही स्कोरलाइन राख्न सफल भयो । ५० औं मिनेटमा इल्काइ गुन्डवानले टिमका लागि दोस्रो गोल गरे ।

५३ औं मिनेटमा हालान्डले पुन: गोल गरेपछि सिटीले सहज जित हात पार्ने अनुमान थियो । तर ५ हजार ट्राभलिङ फ्यानको साथ पाएको डच साइडले अन्तिम समयमा सिटीको डिफेन्सिभ ब्लन्डरको फाइदा उठायो । ७५ औं मिनेटमा आनिस हाड्ज मुसाको गोलमार्फत पाहुना टिम खेलमा फर्किएको हो ।

८२ औं मिनेटमा सब्सिच्युट सान्टियागो हिमिनेजले सिटीसँगको दुरी तीन एकमा झारे । ८९ औं मिनेटमा डाविड हान्कोले गोल गर्दै खेल बराबरी गरेपछि घरेलु समर्थक स्तब्ध बने । च्याम्पियन्स लिगको इतिहासमा सिटी ७५ औं मिनेटमसम्म तीन-शून्यको अग्रता लिए पनि जित्न नसक्ने पहिलो टिम बनेको छ ।

सिटीले सन १९६३ यता लगातार ६ खेलमा पाँच वा सोभन्दा बढी गोल खाएको पनि यो पहिलो पटक नै हो । तालिकाको १५ औं स्थानमा रहेको सिटीको ५ खेलबाट ८ अंक छ । आर्सनलले भने स्पोर्टिङलाई पाँच एक गोलको फराकिलो अन्तरले पराजित गर्यो । सातौं मिनेटमा गाब्रिएल मार्टिनेजले गोलको खाता खोलेका थिए ।

२२ औं मिनेटमा काइ हाभर्टस र इन्जुरी समयमा गाब्रिएले गोल गरेका थिए । ४७ औं मिनेटमा घरेलु टोलीका गोन्सालोले गोल फर्काएका थिए । तर ६५ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा र ८२ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै मिकेल अर्टेटाको टिमलाई तीन अंक दिलाए । सातौं स्थानको आर्सनलको ५ खेलबाट दश अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.