पीएसजीमाथि बार्यनको एक-शून्य गोलको संघर्षपूर्ण जित

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पीएसजीमाथि बार्यनको एक-शून्य गोलको संघर्षपूर्ण जित

काठमाडौं । बार्यन म्युनिखले च्याम्पियन्स लिगमा दश खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मेन पीएसजीमाथि एक-शून्य गोलको संघर्षपूर्ण जित हात पारेको छ । युरोपियन प्रतिस्पर्धामा पीएसजी सेप्टेम्बर यता जितविहीन छ ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा ३८ औं मिनेटमा किम मिन जायले डेडलक तोडेका थिए । जोसुवा किमिखको कर्नरलाई पीएसजीका गोलकिपर मात्वे साफोनोभले राम्रोसँग डिल गर्न नसकेको बलमा किम मिनले हेडर गोल गरेका थिए ।

उनको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो । ७५ हजार समर्थकको उपस्थिति रहेको खेलमा फ्रेन्च क्लब दश खेलाडीमा झरेपछि थप दबाबमा आएको थियो । ५६ औं मिनेटमा उस्मान डेम्बेलेले दोहोरो पहेँलो कार्ड पाएका हुन् । जमाल मुसियालाको प्रहारको उत्कृष्ट बचाउ गर्दै साफोनोभले पीएसजीलाई थप गोलबाट जोगाएका थिए ।

अन्तत: पहिलो हाफमा किम मिनले गरेको गोल नै बायर्नको जितमा निर्णायक सावित भयो । पाँच खेलबाट ९ अंक जोडेको बायर्नले यो जितपछि सिधै छनौट हुने सम्भावनालाई जीवितै राखेको छ । पीएसजीको भने यो तेस्रो हार हो । चार अंकका साथ २६ औं स्थानमा रहेको पीएसजी प्ले अफभन्दा बाहिर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.