नेपालमा १७ वटा जातजाति र एउटा मातृभाषा थपियो, हिन्दु र बौद्ध धर्मावलम्बी घटे

जेष्ठ २०, २०८० |सुबिन्द्र श्रेष्ठ|अवतार राई
नेपालमा १७ वटा जातजाति र एउटा मातृभाषा थपियो, हिन्दु र बौद्ध धर्मावलम्बी घटे

काठमाडौं । नेपालमा पछिल्लो एक दशकमा १७ जातजाति र एउटा भाषा थपिएका छन् । १२ औं राष्ट्रिय जनगणनाको तथ्यांकले मातृभाषा नेपाली, बज्जिका र अवधि बोल्नेको संख्या बढ्दा अन्य मातृभाषा बोल्नेको संख्या घटेको छ । योसँगै हिन्दु र बौद्ध धर्मावम्बीको संख्या पनि केही घटेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा जातजातिको संख्या १ सय ४२ पुगेको छ । यसैगरी मातृभाषाको संख्या १ सय २४ पुगेको छ । जबकी १० वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा १ सय २४ जातजातिको मात्र तथ्यांक संकलन भएको थियो । एक दशकको बीचमा १७ जातजाति थपिएका हुन् । त्यस्तै ६८ सालको जनगणनामा १ सय २३ मातृभाषा पहिचान भएकोमा अहिले १ सय २४ पुगेको छ ।

जातिगतरुपमा सबैभन्दा धेरै क्षेत्रीको संख्या ४३ लाख ९८ हजार अर्थात् १६ दशमलव ४५ प्रतिशत छ । पहाडी ब्राम्हाण ११ दशमलव २९, मगर ६ दशमलव ९, थारु ६ दशमलव २ र तामाङ ५ दशमलव ६२ प्रतिशत पुगेको छ। यस्तै विश्वकर्मा ५ दशमलव शून्य-४ छ भने मुसलमान ४ दशमलव ८६ प्रतिशत छन् । जनगणनाको तथ्यांकले नेवारको जनसंख्या ४ दशमलव ६, यादवको ४ दशमलव २१ र राईको २ दशमलव २ प्रतिशत देखाएको छ । परियार, गुरुङ, ठकुरी, मिजार, तेली, लिम्बु, चमार, हरिजन, राम, कोइरी र कुशवाहा जाती १ प्रतिशतभन्दा बढी छन् भने बाँकी एक प्रतिशतभन्दा कम छन् । सवैभन्दा थोरै जनसंख्या भएको जाति नुराङ ३६ जना मात्र पहिचान भएका छन् । बंकरिया १८०, कुसुन्दा २५३, सुरेल ३१८, ल्होमी ३५५, वालुङ ४८१, राउटे ५६६, तोप्केगोला ६४२, कोचे ८४७, फ्री ९२१ र ल्होफा जातिको जनसंख्या ९३१ मात्र छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये मातृभाषा नेपाली बोल्नेको संख्या सबैभन्दा धेरै ४४ दशमलब ८६ प्रतिशत छ । दोस्रोमा मैथिली बोल्नेको संख्या ११.५ प्रतिशत छ । यस्तै ६ दशमलव २४ प्रतिशतले भोजपुरी, ५ दशमलव ८८ प्रतिशतले थारु, ४ दशमलव ८८ प्रतिशतले तामाङ र ३ दशमलव ८९ प्रतिशतले बज्जिकालाई मातृभाषा भनेका छन् । यसैगरी २ दशमलव ९६ प्रतिशतले अवधि, २ दशमलव ९६ प्रतिशतले नेवारी र २ दशमलव ७८ प्रतिशतले मातृभाषा मगर बोल्छन् । एक दशकको बीचमा नेपाली भाषा बोल्नेको संख्या शून्य दशमलव २ प्रतिशतले बढेको तर अन्य मातृभाषा बोल्नेको संख्या घट्दै गएको तथ्यांकले देखाउँछ । जसमा २२ वटा मातृभाषा हुनेको जनसंख्या एक हजारभन्दा कम छ ।

जनगणनाको तथ्यांकले नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको बसोबास रहेको देखाएको छ । सबैभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार अर्थात ८१ दशमलव १९ प्रतिशतले हिन्दु धर्म मान्ने तथ्याङ्कले देखाएको छ । जबकी २०६८ सालमा हिन्दु धर्मावलम्बीको संख्या ८१ दशमलव ३ प्रतिशत थियो । यस्तै २०६८ सालमा बौद्ध धर्म मान्नेहरुको संख्या ९ प्रतिशत रहेकोमा १० वर्षपछि आइपुग्दा केही घटेर ८ दशमलव २१ प्रतिशतमा झरेको छ । यस्तै ५ दशमलव ९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलब ७६ प्रतिशतले क्रिष्टियन धर्म मान्नेको गरेको तथ्यांक छ ।

राष्ट्रिय जनगणनाको तथ्यांकले जातजातिको संख्या १७ वटा थपिएको देखाए पनि भाषा र धर्ममा खासै ठूलो परिवर्तन भएको छैन । लोपोन्मुख जाति र उनीहरुका मातृभाषाको संरक्षणमा राज्यले विशेष चासो दिनुपर्ने देखिएको छ ।

थप...

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, के मा कस्तो छ तथ्याङ्क ?
जनगणना २०७८ : ३१ प्रतिशत महिला परिवारमुली, २३.८ प्रतिशत महिलामा घरजग्गाको स्वामित्व
राष्ट्रिय जनगणना २०७८ : २.२ प्रतिशतमा अपांगता, पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।

Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।