रोलाँ ग्यारोसकी नयाँ प्रेरणा बनिन् माया फलिन्स्का

जेष्ठ २४, २०८३ |सुवास रोकाया
रोलाँ ग्यारोसकी नयाँ प्रेरणा बनिन् माया फलिन्स्का

काठमाडौं । टेनिसको महान मञ्च रोलाँ ग्यारोस सधैं सपनाहरूले भरिएको रंगमञ्च हो । 

जहाँ कहिलेकाही नियतिले असम्भव जस्तो देखिने कथाहरूलाई पनि वास्तविकतामा बदलिदिन्छ । २०२६ को फ्रेन्च ओपनमा त्यस्तै एउटा प्रेरणादायी कथा लेखिएको छ । पोल्यान्डकी क्वालिफायर खेलाडी माया फलिन्स्काले कठिनाइ, निराशा र सीमित स्रोतहरूलाई पार गर्दै फाइनलसम्मको ऐतिहासिक यात्रा तय गरिन् । 

फाइनलमा रुसी किशोरी मिरा आन्द्रिभासँग सोझो सेटमा पराजित भए पनि फलिन्स्काको टेनिस यात्रा धैर्य, संघर्ष र आत्मविश्वासको शक्तिशाली उदाहरण बनेको छ । फ्रेन्च ओपन २०२६ मा पोल्यान्डकी क्वालिफायर माया फलिन्स्काको अविश्वसनीय यात्रा टेनिस इतिहासकै एक प्रेरणादायी अध्याय बनेको छ । 

विश्व वरियतामा ११४ औँ स्थानबाट सुरुआत गर्दै उनले लगातार नौ खेल जितेर ग्रान्ड स्ल्याम फाइनलसम्मको दुर्लभ यात्रा तय गरिन् । आर्थिक कठिनाइ, मानसिक संघर्ष र स्पोन्सरविहीन अवस्थालाई पार गर्दै उनले पेरिसको कोर्टमा आफ्नो क्षमता प्रमाणित गरिन् ।

मायाले प्रतियोगिताको सुरुआत क्वालिफाइङ राउन्डबाट गरेकी थिइन् । सामान्य अपेक्षा थियो, उनी मुख्य ड्रमा पुगेर बाहिरिने छिन् । तर, उनले त्यो अनुमानलाई गलत साबित गरिन् । लगातार नौ खेल जित्दै उनी सिधैं फाइनलसम्म पुगिन् । जुन महिला टेनिस इतिहासमै क्वालिफायर खेलाडीका लागि दुर्लभ उपलब्धि हो ।

फाइनलमा उनको सामना भयो रुसी किशोरी मिरा आन्द्रिभासँग, जसले आफ्नो प्रतिभा र परिपक्वताले टेनिस संसारमा पहिले नै चर्चा कमाइसकेकी थिइन् । अन्ततः फलिन्स्का सोझो सेटमा पराजित भइन् । तर. परिणामले उनको यात्राको महत्वलाई कम गर्न सकेन । 

बरु अझ उज्यालो बनाएको छ । फलिन्स्काको यात्रा कोर्ट बाहिर पनि संघर्षले भरिएको छ । लामो समयसम्म उनी दोस्रो श्रेणीका प्रतियोगिताहरू खेल्दै युरोपभरि यात्रा गरिरहेकी थिइन् । आर्थिक अभाव यति गहिरो थियो कि फ्रेन्च ओपनकै दौरान पनि उनलाई होटल बसाइको चिन्ता थियो । 

स्पोन्सर बिना खेल्दै आएकी उनले केही समय मानसिक स्वास्थ्य समस्याका कारण टेनिसबाट विश्राम पनि लिनुपरेको थियो । २०२१ मा चार महिनाको विश्रामपछि कोर्टमा फर्किँदा उनी विश्व वरियताको ३ सय बाहिर थिइन् । यहीँबाट सुरु भयो उनको पुनरागमनको कथा ।

फ्रेन्च ओपन २०२६ मा उनले फाइनल सम्मको यात्रा तय गर्न उनले धेरै शीर्ष खेलाडीहरूलाई पराजित गर्दै इतिहास रचिन् । उनी फ्रेन्च ओपनको फाइनल पुग्ने पहिलो क्वाफियर खेलाडी बनिन् । अन्ततः उपविजेता बने पनि उनले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हासिल गरिन् ।

फाइनल पुगेसंगै उनले करिब १ दशमलव ६ मिलियन उमेरिकी डलर पुरस्कार प्राप्त गरिन् । जुन उनको सम्पूर्ण करियर आम्दानीभन्दा ३ गुणा मन्दा बढीले घेरै हो । १ सय १४ औं वरियताबाट प्रतियोगिता सुरु गरेकी फलिन्स्का सोमबार अपडेट हुने नयाा वरियतामा २१औँ स्थानमा उक्लिने छिन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।