विद्यार्थी अभावले थलियो प्राविधिक शिक्षा, सीटीइभिटी पुनर्संरचनाको माग

जेष्ठ २४, २०८३ |नारायण किलम्बू
विद्यार्थी अभावले थलियो प्राविधिक शिक्षा, सीटीइभिटी पुनर्संरचनाको माग

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्-सीटीइभिटी अन्तगर्तको प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि देशभरका ४ सय ९३ वटा संस्थाले शैक्षिक कार्यक्रम नै बन्द गरेका छन् । 

सीटीइभिटीको सम्बन्धनप्राप्त ६ सय ३९ शैक्षिक संस्थामध्ये १ सय ४६ वटाले मात्र यस वर्ष भर्ना खोलेका हुन् । इन्जिनियरिङ, कृषि, वन र व्यवस्थापनजस्ता प्राविधिक शिक्षा पढ्न विद्यार्थी आउनै छाडेकाले सीटीइभिटीकै पुनसंरचना गर्न विज्ञहरुले सुझाएका छन् ।

किन हुन थाल्यो सीटीइभिटीका प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव ?

विद्यार्थीलाई प्राविधिक शिक्षा दिने उद्देश्यले भक्तपुरको बासु माध्यामिक विद्यालयले २०७४ मा सीटीइभिटीसँग सम्वन्धन लिई डिप्लोमा तहको प्लान्ट साइन्स र कम्युटर इन्जिनियरिङ विषयको पढाइ सुरु गर्यो । सुरुका वर्ष विद्यार्थीको धेरै चाप भयो । तर, शिक्षापछि पनि अवसरहरु नपाउने भएपछि विद्यार्थी कम हुँदै गए । 

विद्यालयले अहिले दुवै कार्यक्रम बन्द गरेको छ । भक्तपुरको बासु माविमात्र होइन, सीटीइभिटीबाट सम्बन्धनप्राप्त देशभरका ६ सय ३९ सामुदायिक विद्यालयमा कृषि, इन्जिनियरिङ, वन, होटल म्यानेन्जमेन्ट, व्यवस्थापनजस्ता विषयमा पढाइ हुने गरेको थियो । तर, तीमध्ये यो वर्ष १ सय ४६ शिक्षण संस्थाले मात्र नयाँ भर्ना खोले । 

विद्यार्थी नपाउने भएपछि ४ सय ९३ वटाले कार्यक्रम नै बन्द गरेका छन् । ६ सय ३९ वटैमा गरी ५ हजार १ सय ४४ भर्ना क्षमतामध्ये ३ सय ८२ अर्थात् ७ दशमलव ४३ प्रतिशतमात्र नयाँ भर्नाका लागि आवेदन परेको सीटीइभिटीले जनाएको छ । सामुदायिक विद्यालयको मात्र सीटीइभिटीकै आङ्गिक, साझेदारी र निजी शिक्षण संस्थाहरुमा समेत विद्यार्थी निकै कम छन् ।

एसईई पास नभएकालाई लक्षित गरेर सञ्चालन गरिएको १८ महिने प्रि डिप्लोमा कोर्षमा देशभर १० हजार ६ सय भर्ना क्षमता रहेकोमध्ये ६ सय ६२ अर्थात् ६ दशमलव ४ प्रतिशतमात्र आवेदन परेका छन् । शिक्षाविद्हरु भन्छन्- दक्ष शिक्षक तथा पूर्वाधार अभाव, शैक्षिक सामग्री र गुणस्तर नहुनु र अवसरको अभाव लगायतका कारणले विद्यार्थी घट्दै गएका छन् । 

यसका अलावा विगतमा राजनीतिक पहुँच र प्रभावका आधारमा जथाभावी सम्बन्धन दिइएका कारण पनि धेरैजसो विद्यार्थी अभावले बन्द भएका छन् । अब के गर्ने त ? विकल्प हो - पाठ्यक्रममा समयसापेक्ष परिमार्जन गरी नयाँ प्रविधि र उद्योगसँग जोड्ने र समग्रमा सिटीइभिटीकै पुनसंरचना ।

विद्यार्थीको आकर्षण घट्नुका साथै गुणस्तर नै कमजोर बन्ने जस्ता अनेकौं समस्याले प्राविधिक शिक्षा नै थलिने स्थिति भएपछि सरकारले सिटीइभिटीको प्राविधिक शिक्षासम्बन्धी कानुन संशोधन गर्न विधेयक ल्याउने तयारी गरेको छ । जसले प्राविधिक शिक्षालाई सीप श्रम र रोजगारी उत्पादनसँग जोड्ने गरी उच्चस्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्य राख्नेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।