काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा भएको अनियमितताका विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।
सांसद दाहालले भने, ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने- हिसाब प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको तथ्य छ । त्यसका आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले ओलीजीले लिनुपर्छ कि पर्दैन ?’
आफूले जलहरीको कुरामात्रै नभएर केपी ओलीको कार्यकलमा भएका सबै भष्टाचारको विषयलाई उठान गरको सांसद दाहालको भनाइ छ । उनले अगाडि थपे, ‘ त्यो सुन कसले खायो ? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ । तर मैले व्यक्तिगत हिसाबले किटान गरेको थिएनँ । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हो ।’
दाहालले आफूले बोल्न पाउने अधिकार प्रयोग गरेको दाबी गर्दै संसदीय मर्यादा उल्लंघन नगरेको बताए ।
सत्तापक्षको सांसदले जलहरीको विषयमा आफ्नो अध्यक्षलाई तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार संसद् अवरुद्ध गरेको थियो । साथै एमालेले दाहालले संसदीय मर्यादा उल्लंघन गरेको आरोपसमेत लगाएको थियो ।