नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा अब कसरी अगाडि बढ्छ ?

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा अब कसरी अगाडि बढ्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएसँगै अब यसको प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो धेरैमा छ । प्रहरीले ६० दिन अनुसन्धान गरेर एउटामा पुर्याएको छ । यही प्रकरणमा संलग्न अन्यका बारेमा अनुसन्धान जारी राखेको छ भने सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि थप छानबिन गर्न आग्रह गरेको छ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान र अबको अदालती प्रक्रिया के कसरी अगाडि बढ्छ त ?

नेपाल प्रहरीले ६० दिन अनुसन्धान गरेर निकालेको एउटा निचोडसहित जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब शुक्रबारदेखि अदालतमा थुनछुकको बहस हुने छ । अदालतले पक्ष र विपक्षका तर्फबाट हुने बहस सुनेपछि अभियुक्तलाई थुनामा राखेरै कारबाही अघि बढाउने कि धरौटीमा वा सामान्य तारिखमा रिहा गर्ने भन्ने टुंगो लगाउने छ ।

प्रहरीले पूरा गरेको अनुसन्धानको एउटा पाटो त अब अदालतमा प्रवेश गरिसकेको छ । तर अभियोग लागेका सबैको सम्पत्ति छानबिनका लागि सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा समेत लेखेर पठाउने तयारी गरेको छ । यसैगरी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे र हज समितिका अध्यक्ष शमशेर मियालाई भ्रष्टाचारमा पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । यसो हुँदा सम्पत्ति सुद्धीकरण विभाग र अख्तियारले फरक ढंगले यसको अनुसन्धान अघि बढाउनुपर्ने छ । विभागले आरोपीको सम्पत्तिको विवरण र वैधता दुवै खोजी गर्ने छ भने अख्तियारले पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको प्रमाण खोजी गर्ने छ ।

त्यसो त नक्कली शरणार्थी प्रकरणको अनुसन्धान यतिमा मात्र पनि सीमित हुने छैन । प्रहरीले थप अभियुक्तको खोजी जारी राखेको छ । पक्राउ परेकाहरुले प्रहरीलाई दिएको बयानमा केही व्यक्तिको नाम मुछिएको छ । उनीहरु यो प्रकरणमा संलग्न छन् या छैनन् भन्ने आधार खोजी भइरहेको छ । गृहमन्त्री स्वयम्ले कसैको नाम मुछिँदैमा पक्राउ गरिहाल्न नसकिने र आवश्यक प्रमाण जुटाउने काममा प्रहरी लागिरहेको बताइसकेका छन् । यसले पनि थप व्यक्ति यो प्रकरणमा तानिने सम्भावना टरेको छैन ।

त्यति मात्र होइन, अहिले पक्राउ परेकाहरुले न्यायाधीशसमक्ष बयान दिँदा कसैको नाम लिएमा उनीहरुलाई प्रमाणका रुपमा अदालतले झिकाउन सक्छ । यसले पनि यो प्रकरण झन् पेचिलो बन्ने सम्भावना कायमै छ ।

थप...

२२४ पृष्ठ लामो नक्कली शरणार्थीको अभियोगपत्र (पूर्णपाठ)
नक्कली शरणार्थी प्रकरण : ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर, राज्यविरुद्ध र संगठित अपराधसहित ५ अभियोग
यी हुन् नक्कली शरणार्थी प्रकरणका ३३ प्रतिवादी (सूचीसहित)