आगलागीका घटना नियन्त्रणका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा आपतकालीन सूचना प्रणाली जडान

घटना भएको ५ मिनेटमै दमकल र एम्बुलेन्स पुग्ने व्यवस्था मिलाइएको महानगरको दाबी
कार्तिक २९, २०८२ |नारायण किलम्बू
आगलागीका घटना नियन्त्रणका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा आपतकालीन सूचना प्रणाली जडान

काठमाडौं । सुक्खा मौसम सुरू भएसँगै ललितपुर महानगरपालिकाले आगलागीका घटना नियन्त्रण गर्न आपतकालीन सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । 

महानगरपालिकाले आगलागी भएका स्थानमा तत्काल दमकल पठाउन पाटन दरबार क्षेत्रमा आपतकालीन स्वीच जडान गरेको हो । यस्तो प्रविधि नेपालमै पहिलो पटक जडान गरिएको दाबी महानगरपालिकाले गरेको छ । यो सूचना प्रणालीबाट आपतकालीन सूचना कसरी प्रवाह हुन्छ त ?

ललितपुर महानगर पालिकाले पाटन दरबार क्षेत्रमा राखेको आपतकालीन सूचना प्रणालीको रातो बटन ७ सेकेन्ड थिच्दा महानगरको प्रहरी कन्ट्रोलमा र जुद्ध बारूण यन्त्र कार्यालयमा साइरन बज्छ । योसँगै नगर प्रहरी, अग्नि नियन्त्रक, एम्बुलेन्स चालकको मोबाइलमा सूचना पुग्छ र आगलागी भएको ठाउँमा तत्काल दमकल चाहिएको संकेत गर्छ । 

त्यही अनुसार ललितपुर महानगरपालिकाका दमकल, एम्बुलेन्स र नगर प्रहरीको गाडी घटनास्थल पुगेर आगलागी नियन्त्रणको प्रयास गर्ने छन् । आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न आपतकालीन सूचना प्रणालीको व्यवस्था गरिएको महानगरको भनाइ छ ।

महानगरपालिकाले केही दिनमै पाटन अस्पताल आसपासमा पनि अर्को यस्तै आपतकालीन स्वीच जडान गर्दैछ । ललितपुर महानगरपालिकामा ७७ हजार घरधुरी छन् । आगलागी नियन्त्रण गर्न सुविधासम्पन ६ वटा दमकल, एम्बुलेन्स र १ सय २० जना नगर प्रहरीको व्यवस्था गरिएको छ । आपतकालीन सूचना प्रणाली जडान भएपछि घटना भएको ५ मिनेटभित्रै दमकल र एम्बुलेन्स घटनास्थलमा पुग्ने महानगरपालिकाले दाबी गरेको छ ।

महानगरपालिकाले आगलागी नियन्त्रण गर्न थालेको नयाँ प्रयासले क्षति न्यूनीकरणमा सहयोग पुग्ने स्थानीय बताउँछन् । घनाबस्ती भएको ललितपुरमा अहिले भएका पूर्वाधार अपुग हुने भएपछि महानगरपालिकाले थप दुईवटा दमकल किन्ने तयारी पनि गरेको छ । योसँगै हरेक वडाका महत्वपूर्ण ठाउँ र चोकचोकमा आपतकालीन सूचना प्रणाली जडान गर्ने योजनासमेत महानगरको छ ।

त्यसो त टेलिफोन र मोबाइलबाट पनि आगलागीको सूचना दिन सकिन्छ । तर त्यसरी सूचना दिँदा सही ठाउँ पत्ता लगाउन ढिला हुने र धेरै धनजनको क्षति हुने भएकाले महानगरपालिकाले नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।