यी हुन् नक्कली शरणार्थी प्रकरणका ३३ प्रतिवादी (सूचीसहित)

जेष्ठ ९, २०८० |रमेश धमला
यी हुन् नक्कली शरणार्थी प्रकरणका ३३ प्रतिवादी (सूचीसहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध अभियोगपत्र तयार पारेर सोमबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । यीमध्ये फरार रहेका प्रतिवादीहरु को को हुन् भन्ने विवरण कान्तिपुर टेलिभिजनले प्राप्त गरेको छ ।

संगठित अपराधको ६० दिने हदम्यादका कारण आफ्नो अनुसन्धान प्रतिवेदन बुझाए पनि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भने जारी राखेको छ ।

प्रारम्भिक अनुसन्धानमा ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रहरीले अन्यको संलग्नतामाथि अनुसन्धान नरोकिने जनाएको हो । १६ जनालाई पक्राउ परेको प्रहरीले १७ जनालाई फरारको सूचीमा राखेको छ ।

को को समातिए ?

अहिलेसम्म पक्राउ परेकाहरुमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत छन् ।

त्यसैगरी भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष समशेर मियाँ र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि प्रहरी हिरासतमा परिसकेका छन् ।

प्रहरीले बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी, र रामशरण केसीसहित १७ जनालाई थुनामा लिइसकेको छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परिसकेका छन् ।

को को छन् फरार ?

यसअघि नै पक्राउ पूर्जी जारी भइसकेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापाकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १७ जना फरारको सूचीमा छन् ।

प्रहरी स्रोतबाट प्राप्त तथ्यांकअनुसार केशव तुलाधर, लक्ष्मी मर्हजन, धिरेन राई, मोहनराज राई, दीपा हुमागाई, सुनिल बुढाथोकी र बिनिता साङ्देङ लिम्बू फरारको सूचीमा छन् ।

त्यस्तै निरजकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेलको खाताबाट पनि नक्कली शरणार्थी बनाउन रकम कारोवार भएको देखिएपछि प्रहरीले प्रतिवादी बनाएको छ । उनीहरुसहित राजेश अर्याल, आशीष बुढाथोकी, गोकुल थापा र रमा थापा पनि फरारको सूचीमा छन् ।

फरारमध्ये केही नेपाल बाहिर हुन सक्ने आशंका प्रहरीको छ । मुद्दा अदालतमा पुगेपछि उनीहरु विरुद्ध इन्टरपोल मार्फत् रेड कर्नर नोटिस जारी गर्ने तयारी प्रहरीको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।