नक्कली शरणार्थी प्रकरण : ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर, राज्यविरुद्ध र संगठित अपराधसहित ५ अभियोग

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली शरणार्थी प्रकरण : ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर, राज्यविरुद्ध र संगठित अपराधसहित ५ अभियोग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बुधबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १६ र फरारको सूचीमा रहेका १४ सहित ३० जनाविरुद्ध अदालतमा अभियोजनपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको सिफरिसबमोजिमै अभियोग लगाएको छ । फरार १४ सहित ३० जना सबै आरोपीविरुद्ध संगठित, ठगी, राज्यविरुद्ध किर्ते र सबै अपराध मिलेर गरेकाले थप सजायका लागि एकीकृत कसुर पनि लगाइएको छ । त्यस्तै सबैको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण विभागलाई लेखी पठाउने भएको छ । पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी , सचिव टेकनारायाण पाण्डे र हज समितिका अध्यक्ष समशेर मियाँलाई भ्रष्टाचारमा पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने सरकारी वकिल कार्यालयको निर्णय छ । सबै आरोपीविरुद्ध २ सय २४ पृष्ठ लामो अभियोग पत्र तयार पारिएको जिल्ला न्यायधिवक्ता महेशप्रसाद खत्रीको भनाइ छ ।

अदालतमा शुक्रबारदेखि थुनछेकको बहस सुरु हुनेछ । जिल्ला अदालतमा बयान गरेर सुरु हुने बहसपछि अदालतले पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने/नपठाउने तय गर्नेछ । संगठित अपराधमा मुद्दा चलाउने ६० दिन हदम्यादका कारण अदालतमा पेस भए पनि प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुमाथिको अनुसन्धानलाई भने जारी राखिएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.