सहिद मार्गको मर्म : पुरानो ठेक्का तोडियो, नयाँ ठेक्का लागेन

वैशाख ३०, २०८० |महेश केसी
सहिद मार्गको मर्म : पुरानो ठेक्का तोडियो, नयाँ ठेक्का लागेन

रुकुम पूर्व । रुकुम पूर्वलाई रोल्पा र दाङसँग जोड्ने राष्ट्रिय सडकका रुपमा रहेको सहिद मार्गको रुकुम खण्ड निर्माणको काम अहिले ठप्प छ । सहिद मार्ग सडक आयोजना कार्यालय लिबाङ रोल्पाका अनुसार पुरानो ठेक्का तोडिएको र नयाँ ठेक्का नलागेका कारण काम रोकिएको हो ।

दाङको घोराहीदेखि रुकुम पूर्वको मैकोटसम्म २२० किलोमिटर सहिद मार्गअन्तर्गत रुकुम पूर्वमा ७४ किलोमिटर पर्छ । रोल्पाको सीमास्थल भूमे गाउँपालिकाको धर्मशालादेखि पुथाउत्तरगंगा गाउँपालिकाको हुकामसम्म ट्रयाक खोलिए पनि बाँकी काम भने अघि बढ्न सकेको छैन । धर्मशाला-महत खण्डमा ग्राभेलको काम सकिएको छ । त्यसपछि महतबाट दुमैसम्मको ६ किलोमिटर खण्ड पहिरो गएर ५ वर्षदेखि अवरुद्ध छ ।

काँक्री-हुकाम खण्डमा आव ०७३/७४ मा चौडा गरी ग्राभेल स्तरमा स्तरोन्नति गर्न पप्पु-कोशी एन्ड न्यौपाने जेभीले कामको जिम्मा लिएकामा चारपटक म्याद थप्दा पनि काम गर्न नसकेपछि गत पुसमा उक्त ठेक्का तोडिएको छ । फेरि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै ठेक्का लगाउने तयारी छ ।

‘पुथा उत्तरगंगाबाट चार-चारजना माननीयज्यूहरु हुनुहुन्छ । उहाँहरुले यसमा ध्यान दिनुपर्‍यो । यो सहिदमार्गको बाटो छिटोभन्दा छिटो सञ्चालन होस्,’ पुथा उत्तरगंगाका श्याम विकको भनाइ छ ।

हुकामसम्म सवारी आवागमन भइरहेको भए पनि मैकोटसम्म ट्रयाक नै खोलिएको छैन । हुकाम-मैकोट खण्डमा अहिले प्राविधिक जाँचपास र अध्ययनको काम भइरहेको जनाइएको छ । सडक निर्माणलाई गति दिन आफ्नो ठाउँबाट सकेको पहल गरिरहेको स्थानीय सरकारको भनाइ छ ।

‘सहिदमार्गसँग मेरो समन्वय भइरहेको छ । यसलाई छिटो-छरितो सम्पन्न गर्ने पहल भइरहेको छ,’ पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले भने ।

सहिद मार्गको कामले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै संघीय सरकारले बनाउने अगामी बजेट कार्यक्रमभित्र प्राथमिकतामा पर्नुपर्ने कुरामा आयोजनाको जोड छ ।

‘सहिदमार्गलाई एकैचोटि दुई वर्ष, चार वर्षभित्रमा कालोपत्रे स्तरोन्नति गर्ने हो भने अहिले विनियोजन भइरहेको जुन बजेट छ त्यो अपर्याप्त छ,’ सहिद मार्ग आयोजना कार्यालय रोल्पाका प्रमुख पवन भट्टराईले कान्तिपुर टेलिभिजनसँग भने ।

उत्तरगंगा खोला र घट्टे खोलामा बन्नुपर्ने पुलको ठेक्का लागिसके पनि काम अघि बढ्न सकेको छैन । रुकुम पूर्वका खासगरी भूमे र पुथाउत्तरगंगा गाउँपालिकालाई मध्यपहाडी र अरु राजमार्गसँग जोड्ने मूल मार्गका रुपमा रहेको सहिद मार्ग बनेपछि मात्रै अरु लिंक रोडहरुमा स्थानीयको पहुँच पुग्नेछ । यसलाई समयमै सम्पन्न गराउन सरोकारवालाको पहल र सक्रियता जरुरी छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।