काठमाडौं । घरेलु हिंसा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी संस्थाले बर्सेनि अभियान चलाउँदै आएका छन् । प्रदेश सरकारले त यससम्बन्धी कानुन नै बनाइसके । तर, यस्ता घटना कम हुनुको साटो झन् बढ्दै गइरहेका छन् । ५ वर्षयता करिब ७० हजार वटा घरेलु हिंसाका घटना हुँदा सबैभन्दा बढी मधेश र काठमाडौं उपत्यकामा छन् ।
देश नयाँ वर्षको उल्लासमा रमिरहँदा गत वैशाख १ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवापुरामा २८ वर्षीया स्वेता झामाथि श्रीमानसहित परिवारका सदस्यले आगो लगाए । जलाएर हत्या प्रयास गरिनुको मुख्य कारण थियो दाइजो ।
६ महिना पहिले धनुषाको बटेश्वर गाउँपालिका शान्तिपुरमा २७ वर्षीया महिला आफ्नै पतिबाट मारिइन् । घरायसी विवादमा पतिले बञ्चरो प्रहार गरेका थिए । महिला तथा घरेलु हिंसा नियन्त्रणका लागि सरकारले हरेक वर्ष मार्च ८ देखि १६ दिनसम्म अभियान नै सञ्चालन गर्ने गरेको छ । गैरसरकारी संस्थाका प्रयास पनि उत्तिकै भइरहेका छन् । तर बर्सेनि घरेलु हिंसा बढ्दो छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विगत ५ वर्षमा ६९ हजार वटा घरेलु हिंसाका घटना भएका छन् ।
यो अवधिमा मधेशमा सबैभन्दा बढी घरेलु हिंसाका १९ हजार ७ सय २० वटा घटना भएका छन् ।
मधेशपछि बढी काठमाडौं उपत्यकामा १३ हजार ७ सय ५६ र लुम्बिनीमा १० हजार ९ सय ३५ वटा घरेलु हिंसाका घटना भएका छन् । खासगरी बालविवाह, दाइजो, पारिवारिक तथा आर्थिक अवस्था, सामाजिक मनोविज्ञान र सचेतनाको अभावका कारण घरेलु हिंसाका घटना हुने गरेका छन् । घरेलु हिंसाका उजुरी झण्डै २० प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । सरकारी अधिकारीहरु भने पछिल्लो समयमा समाजमा बढेको सचेतनाका कारण महिला तथा घरेलु हिंसाका घटना बढेको तर्क गर्छन् ।
तर, अधिकारकर्मीहरु भने महिला तथा घरेलु हिंसा नियन्त्रणका नाममा बर्सेनि ठूलो रकम विनियोजन हुने गरे पनि सरकारले प्रभावकारी रुपमा सचेतना कार्यक्रम नै सञ्चालन गर्न नसकेको बताउँछन् ।
घरेलु हिंसा ऐनले कुनै व्यक्तिले आफ्नो घरपरिवारका अर्को सदस्यलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भनेर परिभाषित गरेको छ । अधिकांश यस्ता घटना सकेसम्म समुदायमै मिलाउने प्रयास गरिन्छ, न्यायिक निकायसम्म पीडितको पहुँच नै हुँदैन । त्यसैले घरेलु हिंसा नियन्त्रणका लागि परिवार तथा व्यक्ति त सचेत हुनैपर्छ, स्थानीय तहले पनि प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।
घरेलु मदिराले बारामा घरेलु हिंसा बढायो
धनुषामा ८ महिनामा ५६१ घरेलु हिंसाका उजुरी