धनुषा । महिला र पुरुषको बराबरी अधिकार भए पनि अझै महिलाहरू घरभित्र सुरक्षित छैनन् । दाइजो र अनमेल विवाहका कारण तराई मधेसमा महिलाहरूले विभिन्न खालका हिंसा खेप्दै आएका छन् । कतिसम्म भने दाइजोकै कारण महिलालाई कुटपिटदेखि जलाउनेसम्मका घटना हुने गरेका छन् ।
वैशाख १ गतेका दिन सबैले नयाँ वर्षको उत्सव मनाइरहँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरमा २८ वर्षीय श्वेता झामाथि आगो लगाएर हत्या गर्ने प्रयास भयो । दाइजो नल्याएको भन्दै श्वेताका श्रीमान् राजीव झासहित परिवारका सदस्यहरूले आगो लगाएर हत्याको प्रयास गरेका थिए ।
आधा जलेको शरीर लिएर श्वेता प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’मा उपचाररत छिन् । पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत हिस्सा जलेको श्वेताको यस्तो हालत उनका श्रीमान्, सासू, र देवर मिलेर गरेको माइती पक्षको आरोप छ ।
१८ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी श्वेताको ९ वर्षका एक छोरा र ७ वर्षकी छोरी छिन् । श्वेताका श्रीमान् राजीव र ससुराले विवाहको बेला ३ तोला सुन मागेका थिए । त्यति बेला बुबाले २ लाख भारतीय रुपैयाँ दिए पनि अहिलेसम्म तीन तोला सुन नदिएको भन्दै पटक पटक श्वेतालाई प्रताडित गर्दै आएका थिए ।
त्यसो त महिला अधिकारका पक्षमा र घरेलु हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रमहरू हुने गरेका छन् । तर दाइजो र पारिवारिक विचलनका कारण परिवारका सदस्यबाटै महिलामाथिको प्रताडना बढिरहेको छ । दाइजो सम्बन्धी उजुरी प्रहरीमा नपरे पनि धनुषामा साउन महिना यता चैत महिनासम्म ५ सय ६१ घरेलु हिंसा र ३ सय ९० सामाजिक हिंसाका घटना दर्ता भएको छ ।
विद्यमान सामाजिक व्यवहार सुधार ऐनले दाइजो, जिन्सी वा नगद लिन नहुने र लिए दण्ड सजायको व्यवस्था गरेको छ । धेरैजसो दाइजो सम्बन्धी घटनाहरू बाहिर नआउने र आए पनि कानुनी दण्ड सजाय निकै कम हुने गरेका छन् । यसबाट पीडकभन्दा पनि पीडित पक्ष थप मारमा पर्ने गरेका छन् ।