बिस्केट जात्राको उल्लास !

वैशाख १, २०८० |पशुपति बुढाथोकी|नारायण किलम्बू
बिस्केट जात्राको उल्लास !

भक्तपुर । भक्तपुरको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बिस्केटअन्तर्गतको लिङ्गो जात्रा शुक्रबार हर्षौल्लासका साथ मनाइएको छ । प्रत्येक नयाँ वर्षको शुभारम्भसँगै तान्त्रिक विधिपूर्वक दशकर्म विधान पूजा गरी लिङ्गो ढालेर यो जात्रा मनाउने चलन छ ।

पुरानो वर्षको विदाइ र नयाँ वर्षको सुरुवातसँगै भक्तपुरबासीले योसिंखेलमा बिस्केटको लिङ्गो ढालेर जात्रा मनाउने चलन छ । भैरवनाथको प्रतीक मानिने ५५ हाते लिङ्गो दशकर्म विधान पूजा गरी शुभसाइतमा ढालिएको हो । पुरानो वर्षको अन्तिम दिन उठाइएको लिङगो नयाँ वर्षमा अष्टमातृकाका प्रतीक आठ डोरीले आठै कुनाबाट तानातान गरी ढाल्ने चलन छ ।

लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा झुण्ड्याएको हुन्छ । यो ध्वजालाई विश्वध्वजा र आकाशभैरवका रुपमा समेत लिइन्छ । विश्वध्वजा अर्थात् हलिंपत ध्वजासहितको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि मिल्नुका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । विजय उत्सवका रुपमा मनाइने यो जात्रामा सयौं बाजागाजाका समूह र दशौं हजार मानिस उपस्थित हुन्छन् । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो ।

प्राचिन भादगाउँ देशकी राजकुमारीको नाकबाट निस्कने सर्पको डसाईबाट युवाहरु मर्न थालेपछि तान्त्रिक विधिद्वारा सर्प मारेको र राजकुमारीसँग बिहे गर्न सफल भएको खुशियालीमा बिस्का जात्रा मनाउन थालिएको किवंदन्ती छ । लिङ्गो ढालिएसँगै भैरवनाथ र भद्रकालीको रथ जुधाइने चलन छ ।


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement