तेह्रथुम/धनकुटा । आज विश्व जल दिवस । सरकारले लिएको दिगो विकास लक्ष्यको अवधारणा अनुसार आगामी ७ वर्षभित्र ९९ प्रतिशत उपभोक्तामा सुरक्षित खानेपानीको न्यायोचित पहुँच स्थापित गर्ने भनेको छ । तर मुलुकका १५ प्रतिशत उपभोक्ता अझै पनि खानेपानीको आधारभूत पहुँचबाटै वञ्चित छन् । कतिपय ठाउँमा खानेपानी अभावकै कारण स्थानीयले थातथलो छोड्नु पर्ने बाध्यता छ ।
धनकुटाको तेलिया र कुरुलेका स्थानीय बासिन्दा दशकभरको अवधिमा गाउँ नै शून्य बनाएर बसाइँ सरे । कतिपयले अन्य सुखसुविधाका लागि थातथलो छोडे पनि धेरैलाई खानेपानी अभावले बसाइँ सर्न बाध्य बनायो । मोरङको पाटी गाउँ र धनकुटा डाँडाबजारको माथिल्लो क्षेत्रमा हिउँदका लागि बर्खामै बसेलीको पानी प्लास्टिकका बोतल र घैंटामा राख्नुपर्छ ।
खानेपानी अभाव दोलखा मेलुङका दलित बस्तीको पुस्तैनी समस्या हो । यहाँ घरघरमा खानेपानी पुर्याउँने वर्षौंअघिको सरकारी योजनाले सार्थकता पाउन सकेको छैन । तेह्रथुमको ओख्रे, बतासे, हाक्पारा, हमरजुङ फेदापलगायत स्थानमा पनि खानेपानीको हाहाकार छ । संखुवासभाको मार्मिलिङ, तीरतिरे, आँखीभुइँका स्थानीय पनि वर्षौंदेखि काकाकुल नियति भोग्दै आएका छन् ।
खानेपानी अभावको नियति खेपिरहेका विभिन्न जिल्लाका यी केही प्रतिनिधि विवरण हुन् । सरकारकै तथ्यांकले अझै पनि मुलुकभर १५ प्रतिशत उपभोक्ता खानेपानीको आधारभूत पहुँचबाट वञ्चित रहेको देखाउँछ । स्वच्छ पिउने पानी उपभोग र उपलब्धताको अबस्था झनै कमजोर छ । मौलिक हकमै व्यवस्था गरिएको स्वच्छ पिउने पानीको हक कार्यान्वयन गर्न तीनै तहका सरकारले विशेष योजनासहित कार्यान्वयनमा जान निकै ढिला भइसकेको छ ।
यो पनि :
प्रधानमन्त्री कार्यालयमै खपत हुन्छ वार्षिक २१ लाखको पानी