विवादास्पद व्यापारी भट्टसहित चार जनाविरुद्ध ३ अदालतमा मुद्दा दायर

जेष्ठ २८, २०८३ |कान्तिपुर टीभी संवाददाता
विवादास्पद व्यापारी भट्टसहित चार जनाविरुद्ध ३ अदालतमा मुद्दा दायर

काठमाडौं । बैंकिङ कसूर अभियोगमा विवादास्पद व्यापारीहरु दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध आज तीन वटा अदालतमा मुद्दा दायर भएको छ ।

उच्च सरकारी वकिल कार्यालयले शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनीटी होल्डीङ्सका अध्यक्ष दीपक भट्ट्विरुद्ध ४२ करोड १४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध उच्च अदालत पाटन, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा बिगोसहित जरिवाना र कैद माग गर्दै मुद्दा दायर गरेको हो।

विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको बताउनुभयो । जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमा ऐनविरुद्धको कसूरमा दीपक भट्ट, सुलभ अग्रवालसहितलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । यसमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् । साहिललाई फरार सूचीमा राखिएको छ भने शंकरलाल अग्रवाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा हुनुभएको हो । गोल्छा भने सर्वोच्चको आदेशले बन्दी प्रत्यक्षीकरण रिटमा छुट्नुभएको हो ।

जगदम्बा स्टिल्सले व्यवसायमा प्रयोग नगरि भट्को खातामा पठाएको र त्यसपछि त्यो रकम इन्फिनीटी होल्डीङ्स मार्फत हिमालय रि इन्सुरेन्समा सेयरमा लगानी भएको अभियोगपत्रमा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.