गाउँको वियोगान्त कथा : बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ !

फाल्गुन १७, २०७९ |चन्द्र कार्की
गाउँको वियोगान्त कथा : बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ !

बसाइँसराइपछि खण्डहर बनेको तेह्रथुमको छथर गाउँपालिका ४, दोबाटेको एक घर ।

तेह्रथुम । कोसी राजमार्गको धरान-बसन्तपुर सडक खण्डको सिँधुवा बजारबाट ९ किलोमिटर मोटरबाटोको यात्रापछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजार पुगिन्छ । शुक्रबारे बजारबाट सदरमुकाम म्याग्लुङ जोड्ने छोटो दूरीको सडकको ट्रयाक खुलिसकेको हुनाले त्यहाँबाट हलुका सवारी साधनहरु म्याग्लुङसम्म आवत-जावत गर्न थालेका छन् ।

गाउँपालिकाभित्र केही ठूला खानेपानी आयोजनासमेत निर्माणाधीन अवस्थामा छन् । अधिकांश बस्तीसम्म कच्ची सडकको सञ्जाल जोडिएको छ । गाउँको विकासै नभएको चाहिँ होइन, तर यस पालिकाको समस्याचाहिँ अर्कै छ ।

देशमा संघीयताको कार्यान्वयनपछि ‘गाउँ-गाउँमा सिंहदरबार’ को नारा राजनीतिक दलहरुले घन्काइरहेका छन् । संघीयताको परिकल्पनाअनुसार यतिबेला यहाँका ग्रामीण क्षेत्रमा व्यापक चहलपहल बढ्नुपर्ने हो । तर, पहिले बाक्लै चहलपहल हुने छथर गाउँपालिकाका ग्रामीण बस्तीमा बसाइँ सराईले गाउँ बस्ती नै रित्तिँदो अवस्थामा छन् ।

गाउँको वियोगान्त

सुविधा र अवसरको खोजी गर्दै वडा नम्बर ५ ओख्रे बाँसपानीका ६८ बढी घरपरिवार आफ्नो पुख्र्यौली जग्गा जमिन त्यसै छोडेर तराईमा बसाइँ रहेको स्थानीय शिक्षक केदार बस्नेतले सुनाए । ‘बाँकी रहेका परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन्’, शिक्षक बस्नेत कान्तिपुरसँग भन्छन्, ‘पछिल्लो समय गाउँबाट बसाइँ जाने दर निकै बढेको छ ।’

गाउँमा भएका पानीका मुहान, पोखरी, खोलानाला, चिस्यान र सिमसार क्षेत्रसमेत सुकेर पिउने पानीको अभाव भएपछि मानिसहरुले गाउँ छाडिरहेको बाँकी रहेका गाउँलेहरुको भनाइ छ । दश वर्षअघिसम्म ८३ घर रहेको बाँसपानीमा अहिले यो संख्या आधामा झरेको छ ।

त्यस्तै, विगत एक दशकको अवधिमा फेदाप गाउँपालिको सम्दुबाट ६५ परिवारका २ सय ७० जना बसाइँ सरेर तराई र काठमाडौंतिर गएका छन् ।

पहाडको तुलनामा तराई क्षेत्रमा रोजगारी, औषधोपचार, शिक्षा, खानपान तथा अन्य सेवा-सुविधा बढी हुने भएकाले पछिल्ला वर्षहरुमा धेरैले आफ्नो थातथलो छोडेर गएको छथर गाउँपालिका-५, ओख्रेका पूर्ववडाअध्यक्ष पुण्यप्रसाद ढकालले कान्तिपुरलाई बताए ।

देशका अरू ठाउँमा जग्गा जमिनको भाउ दिनदिनै बढ्दो छ । तर, यहाँका गाउँलेहरु आफ्नो जमिन बिक्री नै नभए पछि त्यसै छोडेर हिँडेका छन् । गाउँमा जग्गा जमिनको किनबेच प्राय: ठप्प छ । पहिलेका ग्रामीण किसानका हरिया खेतबारी जंगली मिचाहा प्रजातिको किर्ने काँडाले ढाकेको छ । बाँदरको संख्या पनि बढेको छ । छिमेकीहरु गाउँ छाडेर हिँडेपछि बाँकी रहेका गाउँलेहरु पनि अन्यत्रै सर्ने सोचाइ रहेको बताउँछन् ।

त्यसो त गाउँपालिकाले गाउँलेहरुको सुविधाका लागि बस्तीसम्मै मोटरबाटो खनिदिएको छ । तर, गाउँका यी सडकमा गाडी भने कमैमात्र गुड्छन् । गाउँमा परम्परागत मौलिक कलाले सिँगारिएका रहरलाग्दा घरहरु अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनै भत्किने क्रममा छन् । घर वरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ग्रामीण क्षेत्रका महल जस्ता घरहरु यतिबेला खण्डहरमा परिणत भएका छन् ।

सिंगो परिवार बसाइँ सरेर गएपछि पुर्ख्यौली सम्पत्तिका रूपमा रहेका यी रहरलाग्दा घर र गोठ खण्डहरमा परिणत भएको २ नम्बर वडा, हमरजुङका भीमबहादुर थापाले कान्तिपुरलाई बताए ।

तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको दृष्य ।

बसाइँ आउनेलाई ५ लाख

गाउँबाट भइरहेको बसाइँ सराइको दर रोक्नकै लागि छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आउने परिवारलाई ५ लाख रुपैयाँ नगद दिने कार्यक्रम नै ल्याएको छ । बसाई सरेर छथर आउनेहरुलाई गाउँपालिकाले व्यवसायिक प्रस्तावनाका आधारमा ५ लाख रुपैयाँ अनुदान दिन थालेको हो ।

‘बसाइँ सराइले छथर गाउँपालिकाको जनसंख्या नै घट्न थालेपछि हामीले पैसा दिएर भए पनि बसाइँ गएकाहरुलाई फर्काउने अभियान सुरु गरेका हौं’ गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले कान्तिपुर टेलिभिजनसँग भने ।

पालिकाको यो कार्यक्रमपछि केही परिवार बसाइँ सरेर आएका पनि छन् । तर, स्थानीयको बसाइँ सर्ने दर भने रोकिएको छैन ।

लिम्बू समुदायको बाहुल्य रहेको जिल्ला हो तेह्रथुम । यहाँ ३६ प्रतिशत लिम्बू समुदायको एकल बसोबास छ । यो समुदायका युवाहरुमा लाहुर र खाडी मुलुक जाने लहर पहिलेदेखि नै चलिआएको छ । बाहिर गएर केही आर्थिक जोहो भएपछि गाउँ छाड्नेहरुको संख्या पनि बढ्न थालेको बसन्त बहुमुखी क्याम्पसका प्रमुख भीमप्रसाद दाहाल बताउँछन् ।

बाहुन, क्षेत्रीलगायत अन्य जाति पनि खाडी मुलुक गएर केही पैसाको जोहो हुनासाथ गाउँ छाडेर सुविधायुक्त ठाउँतर्फ बसाइँ सर्ने लहर नै चलेको छ । यसको असर गाउँघरमा हुने विकास निर्माण र सामाजिक काममा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

बसाइँ सराइको दर उच्च रहेको छथर गाउँपालिकामा बसोवास गरिरहेका अधिकांश परिवारहरु छिमेकीविहीन बनेका छन् । तेह्रथुम जिल्लाका अन्य पालिकाको अवस्था पनि यस्तै छ । यहाँका गाउँलेहरु पूर्वी तराईको झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा बसाइ सर्ने गरेका छन् ।

मध्यपहाडी लोकमार्ग बीच बस्तीबाटै गए पनि बसाइँसराइ नरोकिएको आठराई गाउँपालिका ६ को चुहानडाँडा बस्ती ।

धनी-गरिब दुवै

जिल्लाबाट बसाइँ सरेर जाने दुई वर्ग छन् । एक- आर्थिक रूपमा सम्पन्न वर्ग, जो थप सुविधाको खोजीमा बसाइँ सरिरहेका छन् । दोस्रो- एकदमै विपन्न वर्ग, जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दु:ख, कष्ट भोग्न बाध्य भएकाले बसाइ सरिरहेका छन् ।

सम्पन्न वर्ग प्राय : पूर्वी तराईका धरान, इटहरी लगायतका शहर बजारमा र विपन्नहरु तराईका भित्री गाउँमा गइरहेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूको भनाइ छ ।

जिल्लाबाट बसाइँ सर्नेहरुमा विपन्न भन्दा सम्भ्रान्त वर्गको बाहुल्य देखिन्छ । आर्थिकरूपमा सम्पन्न भएपछि चाहे अनुसारको शिक्षा र फरक जीवनशैलीका लागि उनीहरु तराई झर्ने गरेका हुन् ।

गाउँमा आधुनिक तथा व्यवसायिक खेती प्रणाली अपनाउन नसक्नुका साथै सिंचाई र मलबिउको अभावमा आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न मुस्किल भएपछि पनि बसाई सरेर तराई झनेहरुको लर्को नै लाग्ने गरेको स्थानीयको भनाइ छ ।

तराईमा आफूसँग जमिन नभए पनि अर्काको जमिनमा अधियाँ गरेरै भए पनि परिवार पाल्न सकिने र ऐलानी जग्गा समेत कमाउन पाइने भएपछि अधिकांश गाउँले बसाइँ सरेर गएको फेदाप गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर श्रेष्ठको दाबी छ ।

अन्यत्रबाट बसाइँ सरेर आउने परिवारलाई पाँच लाख रुपैयाँ अनुदान दिने छथर गाउँपालिका केन्द्र शुक्रबारे बजार ।

जिल्लाको जनसंख्या घटेको घट्यै

०६८ सालमा १ लाख १ हजार ५ सय ७७ रहेको तेह्रथुम जिल्लाको जनसंख्या ०७८ मा आइपुग्दा बढ्नुको सट्टा घटेर ८९ हजार १ सय २५ मा झरेको छ ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर ऋणात्मक भएका देशभरका पाँच जिल्लाको सुचीमा तेह्रथुम पनि परेको छ । यहाँको वार्षिक जनसंख्या वृद्धिदर माइनस १.२६ प्रतिशत छ । राष्ट्रिय जनगणना ०७८ का अनुसार देशैभरमा कम जनसंख्या भएको पालिकामध्ये लालीगुराँस नगरपालिका पनि तेह्रथुममै पर्छ ।

समग्र नेपाल र विश्वभर जनसंख्या वृद्धि भैरहेका बेला यहाँ भने जनसंख्या घटिरहेको छ । यहाँको जनसंख्या वृद्धिदर एकदमै ऋणात्मक बन्दै जाँदा समग्र जिल्लाको विकास निर्माणमै असर परिरहेको पूर्वप्रदेशसभा सदस्य लक्ष्मण तिवारीको भनाइ छ ।

पछिल्ला वर्षहरुमा जिल्लामा विकासले गति लिएको छ । आम्दानीका स्रोतहरु पनि थपिएका छन् । साक्षरता दर बढेको छ । भौतिक सेवा सुविधाहरु पनि थपिइरहेका छन् । गाउँ पनि विकासको गतितर्फ लम्किरहेको छ । तैपनि प्रत्येक वर्ष जिल्लामा जनसंख्या घटिरहेको छ ।

पछिल्ला वर्ष जिल्लामा परिवार संख्या बढिरहेको भए पनि जनसंख्या भने निराशाजनक रुपमा घटिरहेको तथ्याङकले पुष्टि गरेको छ । जनसंख्या घट्दो दरमा रहेको भए पनि जिल्लामा परिवारको खण्डीकरण भई स-साना परिवार बन्ने क्रम भने बढिरहेको छ ।

जिल्लामा रहेका २० हजार ३ सय ५७ घरका २२ हजार २७ परिवारका अधिकांश सदस्य विदेशमा रहेको राष्ट्रिय जनगणना ०७८ ले औंल्याएको छ । सुरुमा दुई निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदाता संख्या घटेकै कारण अहिले एउटामा झरेको छ ।

तेह्रथुमको छथर गाउँपालिका ३, पञ्चकन्यामा पिउने पानी भर्न लाइन बसेका गाउँले ।

आर्थिक सामाजिक र राजनीतिक असर

थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्न । बसाइँ सर्ने दर बढ्दै जाँदा तेह्रथुमका थुप्रै गाउँहरु खाली हुने अवस्थामा पुगेका छन् । अहिले गाउँमा ज्यादै न्यून आय भएका परिवार तथा केही मध्यम स्तरका परिवार मात्र बाँकी छन् ।

खाडी मुलुक गएर रोजगारी गरी कमाएको पैसाले धेरैले सके तराईको बजार क्षेत्रमा, नभए पनि तराईकै ग्रामीण क्षेत्रमै भए पनि घर घडेरी जोडेका छन् ।

गाउँमै जागिर वा व्यापार-व्यवसाय गरेर बस्ने मध्यम वर्गले पनि आफ्नो आयस्रोत अनुसार तराईका गाउँदेखि सहरसम्म थोर बहुत घरघडेरी जोडेका छन् । कति पूरै परिवार तराईमै बस्छन् त कतिपय यता र उता दुवैतिर बस्ने गरेका छन् । अहिले तेह्रथुमका गाउँ बस्तीमा तराईमा सानोतिनो घर घडेरी तथा जग्गा-जमिन हुनु सामाजिक प्रतिष्ठाको विषय बनेको छ ।

कृषि क्षेत्रमा लगानी अनुसार प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु र स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले गाउँ छाड्ने दर बढेको स्थानीय अगुवाहरुको भनाइ छ ।

सपरिवार बसाइँ सरेर सधैँका लागि जाने त छँदैछन्, बाहिर पढ्न गएकाहरू पनि अधिकांश पढी-लेखी उतै व्यापार व्यवसाय तथा जागिर गरेर बस्ने क्रम पनि बढिरहेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी, व्यापारी, राजनीतिज्ञ प्राय: सबैले जिल्लामा बसेर कमाएको रकम अधिकांश अन्यत्रै लगानी गर्दा गाउँको विकास भनेजस्तो गतिमा छैन ।

समाजका लागि आर्थिक, शैक्षिक, सामाजिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउने मानिससमेत बसाइँ सरेर अन्यत्रै जाँदा र बसाइँ सरिनसकेकाहरुले पनि स्थानीयस्तरमै लगानी गर्नुको साटो कमाएको धन सम्पत्ति तराईतिरै लगानी गर्दा जिल्लाको ग्रामीण क्षेत्रको गरिबी र पछौटेपन हट्न नसकेको सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका दलित सचेतना समाज नेपाल (ड्यास) का कार्यक्रम अधिकृत कुमार विशंखेको भनाइ छ । पहाडमा गरिबी र पछौटेपन कायमै रहनुमा बसाइँ सराइ नै प्रमुख कारण रहेको उनको बुझाइ छ ।

अध्ययन, व्यापार-व्यवसाय तथा जागिरको सिलसिलामा बाहिर गएकाहरू फर्किएर नआउँदा ज्ञान, सीप, प्रविधि र पुँजीसमेत जिल्लामा भित्रिन पाएको छैन ।

शिक्षित र सचेत वर्ग गाउँमा नहुँदा स्थानीय तह तथा विभिन्न गैरसरकारी संघ संस्थाले जनताको जीवनस्तर माथि उकास्ने भनेर सञ्चालन गरिरहेका विकास निर्माण लगायत विभिन्न कार्यक्रमको निगरानी गर्ने मानिसको समेत अभाव छ । यसको परिणामस्वरुप स्थानीय तहमा अनियमितता र बेरुजु बढ्दो छ । सरकारी तथा गैरसरकारी निकायले जिल्लामा वर्षेनि अरबौं रुपैया जनताका नाममा खर्च गरिरहेका भए पनि त्यसको अधिकांश भाग लक्षित वर्ग सम्म नपुग्दै सकिने गरेको तितो यथार्थ छ ।

बसाइँसराइले खालीजस्तै बनेको तेह्रथुमको आठराई गाउँपालिका ६, मङसारी गाउँ ।

जिल्लाको राजनीतिक नेतृत्वले पद र पहुँचमा हुँदा ग्रामीण क्षेत्रको अशिक्षा, गरिबी र पछौटेपनको अन्त्य गर्ने ठोस नीति तथा कार्यक्रम ल्याउनुको साटो राजनीति गर्ने थलोको रूपमा मात्रै पहाडलाई प्रयोग गरेको जिल्लाबासीको आरोप छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका चुनाव आउँदा भोट माग्न गाउँ केन्द्रित हुने नेताहरू चुनाव सकिएपछि भने गाउँमा देखिनै छाडेको गुनासो यहाँका जनताको छ ।

गाउँबाट बजारमा र बजारबाट तराईमा बसाइँ सर्ने क्रम जिल्लामा पहिल्यैदेखि चलेको हो । बसाइँ सराइले गाउँका विद्यालयमा विद्यार्थी नभएपछि शिक्षा समन्वय इकाइले दर्जन बढी विद्यालय बन्द गराइसकेको छ । सोही परिमाणका विद्यालयको तह घटाएको छ । जिल्लामा रहेका एक सरकारीसहित अन्य चारवटा सामुदायिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या समेत प्रत्येक बर्ष घटिरहेको बसन्त वहुमुखी क्याम्पसका प्रमुख दाहालको भनाइ छ ।

नेपाल जीवनस्तर सर्भेक्षण ०६६/०६७ र ०६८ को जनगणनाका आधारमा केन्द्रीय तथ्याङक विभागले तयार पारेको गरिवीको लघुक्षेत्र अनुमान ०६८ अनुसार यहाँको गरिवीको दर १४.५६ प्रतिशत छ । गरिवीका आधारमा कम गरिव भएको जिल्लाको १३ औं स्थानमा तेह्रथुम पर्छ । जिल्लाको साक्षरता दर ७४.६२ प्रतिशत पुगेको छ । तैपनि बसाइँ सराइको दर भने बढिरहेकै छ । जसले गर्दा जिल्लाको जनसंख्या प्रत्येक वर्ष ऋणात्मक बन्दै गएको छ ।

सुविधाका लागि बस्तीसम्मै सडक निर्माण भएपछि त झन गाउँलेलाई बसाई सर्न सजिलो भएको जनप्रतिनिधिको भनाइ छ । बस्तीसम्म नै मोटर पुगेर सामान बोक्न नपरेपछि बसाइँ सर्ने दर झन बढी देखिएको तेह्रथुम जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीको तर्क छ ।

बसाइँसराइपछि खण्डहर बनेको तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रेको एक घर । सबै तस्बिर : चन्द्र कार्की/कान्तिपुर टीभी


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।


Enter Kantipur TV HD
Advertisement