कुन दलले पाउला राष्ट्रपति : दाहाल आफूअनुकूल खोज्छन्, एमाले आफू भन्छ

माघ १४, २०७९ |विकास आचार्य
कुन दलले पाउला राष्ट्रपति : दाहाल आफूअनुकूल खोज्छन्, एमाले आफू भन्छ

काठमाडौं । सत्तारुढ प्रमुख २ दल एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति कसले पाउने भन्नेमा पुस १० गते नै सहमति भएको थियो । तर, माओवादी केन्द्रले सहमति विपरीत राष्ट्रिय सहमतिको राष्ट्रपति खोज्न थालेपछि राष्ट्रपति कुन दलले पाउँछ भन्ने यकिन हुन सकेको छैन ।

एमालेले पूर्व सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रिय सहमतिको कुरा दोहोर्‍याइरहेका छन् । दाहालले आफूअनुकूल राष्ट्रपति खोजेका हुन् वा एमालेलाई राष्ट्रपति दिन नखोजेका हुन् ?

सार्वजनिक कार्यक्रम होस् वा पार्टीको आन्तरिक बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयन गरिने बताइरहेका छन् । पुस १० मा नयाँ सत्ता गठबन्धन बनाउँदै गर्दा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादीबीच भागबन्डा भएको भनिए पनि दाहाल लगायत माओवादी केन्द्रका नेताहरूको पछिल्ला अभिव्यक्तिले त्यसलाई महत्त्व दिँदैन ।

दाहालले खोजेको सर्वस्वीकार्य व्यक्ति दलभित्रको कि बाहिरको ?

प्रधानमन्त्री दाहालले पटकपटक राष्ट्रिय सहमतिको कुरा गरे पनि सहमति कसरी र को सँग गर्ने स्पष्ट पार्न सकेका छैनन् । उनले आफू अनुकूल उम्मेदवार खोजेका हुन् वा दल त्यो पनि बताउन सकेका छैनन् ।

कतिपयले त दल बाहिरबाट राष्ट्रपति खोज्न थालिएको हो कि भन्ने आशंका पनि गरेका छन् । दाहालले खोजेको सर्वस्वीकार्य व्यक्ति दलभित्रको कि बाहिरको ? के दलबाहिरबाट पनि राष्ट्रपति चुनिने सम्भावना छ ? 

पहिलो पटक प्रधानमन्त्री भएका बेला सेनापति प्रकरणमा राजीनामा दिनुपरेको स्मरण गर्दै दाहालले यसपटक सर्वस्वीकार्य व्यक्ति खोजेको हुन सक्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटन सदर गर्ने निर्णय, नागरिकता विधेयक अनुमोदन नगरेको घटनाले पनि दाहाल सशंकित भएको देखिन्छ । तर, दलीय प्रणालीमा सर्वस्वीकार्य व्यक्ति खोज्नु निकै कठिन विषय भने हो । 

को-को छन् राष्ट्रपतिका आकांक्षी ?

७ दल र केही स्वतन्त्रसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले विपक्षी दलको पनि विश्वासको मत पाए । संसद्को ठूलो दल कांग्रेसलाई समेत रिझाउन दाहालले सहमतिको उम्मेदवार खोज्दा सत्ता समीकरणमा पनि फेरबदल हुनसक्ने आकलन गर्न थालिएको छ ।

यो पनि...

राष्ट्रपतिको चुनावमा केको अल्झन् ?


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।