सरकार फेरिए, जनप्रतिनिधि फेरिए तर बसपार्कको मुहार फेरिएन

पुस १९, २०७९ |प्रेम रौले
सरकार फेरिए, जनप्रतिनिधि फेरिए तर बसपार्कको मुहार फेरिएन

बाजुरा । सरकार फेरिए । जनप्रतिनिधिहरू फेरिए र उनीहरूको जीवनशैली पनि फेरियो । दशक बित्यो तर न बाजुराका सडक फेरिए न बसपार्कको अनुहार । सडकको दुरावस्था र बसपार्कको बेहाल जस्ताको त्यस्तै छ ।

जिल्ला सदरमुकाम मार्तडीमा ६ वर्ष अगाडि बस पुगे पनि हालसम्म सडकका छेउछाउमै सवारी साधानहरु पार्क गर्ने गरिएको छ । बडीमालिका नगरपालिका–८ मा निर्माणाधीन बसपार्क वर्षौंदेखि अलपत्र छ, कहिले निर्माण सम्पन्न हुने हो टुंगो छैन । एक दशकअघिको बसपार्क निर्माण योजना अझै साकार हुन सकेको छैन । 

तत्कालीन जिल्ला विकास समितिको दुई लाख रूपैयाँबाट निर्माण थालिएको उक्त बसपार्क अहिलेसम्म ९० लाख बढी रकम खर्च भइसक्दापनि निर्माण कार्य पूरा भएको छैन । यसको निर्माणका लागि जिम्मेवारी स्थानीय निकाय पनि मौन नै छ । अघिल्लो स्थानीय सरकारले ५ वर्षसम्म बसपार्क निर्माणकै लागि ९० लाख खर्च गरे पनि निर्माणको जिम्मेवारी पाएका विभिन्न कम्पनीले समयमै काम सकिदिएनन् र बसपार्क अलपत्र अवस्थामा रह्यो । 

सुदूरपश्चिमका योजनामा बेथिति : बजेट हरेक वर्ष छुट्याउने तर काम नहुने

बर्सेनि बजेट छुट्याउने काम त भयो तर चित्तबुझ्दो ढंगले बसपार्क निर्माणको कार्यले गति लिएन । बसपार्क पुरा गर्नेतर्फ प्राथमिकता दिनु भन्दा एकै योजनामा पटकपटक लगानी गर्ने र राजनीतिक पार्टीका कार्यकर्ता पाल्ने काम मात्र भएको सर्वसाधारणको आरोप छ ।

बसपार्क नहुँदा बाजुरा मात्र होइन, मुगु र हुम्लासम्मका यात्रुहरूले समस्या भोग्ने गरेका छन् । बस र जिपहरूले सदरमुकाम मार्तडीबाजारका सडक छेउछाउ ओगट्दा पैदल यात्रु र विद्यार्थीहरूका लागि जोखिम बढिरहेको छ । स्थानीय निमेन्द्र शाही भन्छन्, 'सडकमै अव्यवस्थित पार्किङ भएकाले विद्यालय आउने बालबालिका र आवतजावत गर्ने वृद्ध वृद्धालाई सकस हुने गरेको छ ।' त्यस्तै जय मालिका यातायात प्रालिका महासचिव देवेन्द्र नाथ जिल्लामा बस पुगेको ६ वर्ष हुँदासम्म बसपार्क नहुँदा बस,जिप तथा मालवाहक ट्याक्टर र ट्रकहरू सडकमा पार्किङ गरेर राख्नु पर्ने बाध्यता रहेको गुनासो गर्छन् ।  

निर्माणाधीन अवस्थामा रहेको बसपार्क साँघुरो हुने देखिएकाले बडीमालिका नगरपालिकाले त्यसलाई जिप तथा ट्याक्टरका लागि छुट्याउने र बसहरूका लागि जिल्ला कारागार नजिकै अर्को बसपार्क बनाउने जग्गाको खोजी गरिरहेको नगर उपप्रमुख नन्दा थापाले जानकारी दिइन् ।

सम्बन्धित समाचर...

पहिरोले मार्तडी-कोल्टी सडक अवरुद्ध

बाजुराका ९५ वस्ती बाढी र पहिरोको जोखिममा


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।