लुम्बिनीस्थित बौद्धकालीन सम्पदा पानीमा डुब्दा अस्तित्व संकटमा

सरोकारवाला निकाय मौन
आश्विन ३०, २०८२ |मनोज पौडेल
लुम्बिनीस्थित बौद्धकालीन सम्पदा पानीमा डुब्दा अस्तित्व संकटमा

कपिलवस्तु । लुम्बिनीस्थित बौद्धकालीन सम्पदा पानीमा डुब्दा तिनको अस्तित्व संकटमा पर्दैगएको छ । महिनौंदेखि पुरातात्विक भग्नावषेशका संरचना पानीमा डुबिरहदाँ पनि सरोकारवाला निकाय लुम्बिनी विकास कोषले कुनै चासो राखेको छैन । सम्पदाविज्ञले पुरातात्विक संरचना लामो समयदेखि पानीमा डुबेर रहँदा क्षयीकरण हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको दक्षिणपूर्वमा रहेको विहार क्षेत्र, कपिलवस्तुको तिलौराकोटस्थित केन्द्रीय संरचना परिसर तथा गोटिहवास्थित अशोकस्तम्भका धेरै भाग डुबानमा परेर संकटमा पर्दै गएका छन् । पानी निकास गर्न वैकल्पिक व्यवस्था नगर्दा समस्या गहिरिदै गएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरदेखि दक्षिणमा रहेको प्राचीन विहार क्षेत्रको झण्डै आधा भग्नावषेश डुबानमा पर्दै आएको छ । ठूलो पानी पर्दा साता १० दिनसम्म पूरै डुब्नेगर्छ । पुरै सुक्न एक डेढ महिना लाग्नेगर्छ । भदौ पहिलो सातादेखि नै डुबानमा परेको उक्त क्षेत्रमा अहिलेसम्म पानी सुकेको छैन् । ईशाको पहिलो शताब्दीतिर कुसानकालमा भिक्षुहरु बस्न बनाइएको उक्त विहार डुबानमा पर्ने कुराले पुरातत्वविद् माधव आचार्य चिन्तित हुनुहुन्छ ।

त्यस्तै शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको तिलौराकोटस्थित केन्द्रीय संरचना परिसरको दुर्दशा पनि त्यस्तै छ । परिसरको पूर्वमा रहेको भग्नावषेश डुबेर देखिदैन् । त्यही छेउको इनारलगायतका अन्य संरचना पनि डुबेका छन् । त्यस्तै परिसरको पश्चिममा सुरक्षा प्रयोजनका लागि बनाइएकोजस्तो लाग्ने दुई वटा ससाना कोठा पनि डुबेका छन् । यहाँ सन् १९७६÷७७ मा उत्खनन् हुदा ईशाको दोस्रो र तेस्रो शताब्दीमा बनेका २२ सयभन्दा बढी तामाका सिक्का पाइएका थिए । त्यस्तै कपिलवस्तु नगरपालिकास्थित गोटिहवाको महत्वपुर्ण अशोक स्तम्भ पनि वर्षेनी ४÷५ महिना डुब्ने गरेको छ ।

इँटका भग्नावषेश पानीमा डुब्दा कमजोर भइरहेको हुन्छ । भग्नावषेश आसपास जमिनमुनि रहेका पुरातात्विक वस्तु डुबानले गर्दा पग्लिने, नष्ट हुने र रंग परिवर्तन हुने डर हुन्छ । यस्तोमा पछि उत्खन्न् गर्नुपर्दा धेरै पुरातात्विक वस्तु नष्ट भइसकेका हुने लुम्बिनी विकास कोष पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती बताउनुहुन्छ ।

पानीमा हुने नुनले खारेर भग्नावषेशलाई कमजोर बनाएर क्षति पु¥याउने गर्छ । हरेक वर्ष डुबानमा पर्ने भग्नावषेश भएको ठाउँलाई वैकल्पिक व्यवस्था गरेर निकास दिनुपर्ने पुरातत्वविद्हरु बताउँछन् । नभए भग्नावषेशमुनि रहेका पुरातात्विक महत्वका वस्तु हराएर, नष्ट भएर जाने देखिन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।