जेन-जी प्रदर्शनमा घुसपैठबारे प्रहरी अनुसन्धान तीव्र

आश्विन ३०, २०८२ |किरण पौडेल
जेन-जी प्रदर्शनमा घुसपैठबारे प्रहरी अनुसन्धान तीव्र

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जीको प्रदर्शनका क्रममा घुसपैठ गरी आपराधिक गतिविधिमा संलग्नहरुमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ । सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले आपराधिक गतिविधिमा संलग्नहरुमाथि प्रहरीले प्रचलित कानुनअनुसार कारबाही गर्न सक्ने भनेपछि प्रहरीले प्रमाण संकलन गरी अनुसन्धान र कारबाही थालेको हो । घटनामा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यकाबाट प्रहरीले १ सय २३ जनालाई पक्राउ गरे पनि अहिले १४ जना हिरासतमा छन् । प्रहरीले २३ र २४ गते भएका घटनाका ३५ हजारभन्दा बढी भिडियो संकलन गरेको छ । ती भिडियोकोसमेत विश्लेषण गरेर प्रहरीले अनुसन्धान गरेको हो ।

जेन–जी प्रदर्शनपछि भदौ २४ गते भएका विध्वंशका घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही थालेको प्रहरी गृह मन्त्रालयको निर्देशनपछि केही सुस्ताएको थियो । त्यसबेला काठमाडौंबाट पक्राउ परेका ७१ जनालाई प्रहरीले छाडेको थियो । उनीहरुमाथि हातहतियार, खरखजना र आपराधिक उपद्रोको कसुरमा केही दिन अनुसन्धान गरे पनि गृहको निर्देशनपछि प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । तर उच्चस्तरीय न्यायिक आयोगले फौजदारी कसुरको अनुसन्धान सरकारका नियमित संयन्त्रबाटै गराउन निर्देशन दिएलगत्तै प्रहरीले फेरी अनुसन्धान अघि बढाएको हो । विगतमा छाडिएकाहरुमाथि पनि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उच्चस्तरीय न्यायिक आयोगले राज्यका नियमित संयन्त्रबाटै फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न भनेपछि काठमाडौं प्रहरीले २४ गतेको घटनामा संलग्न टीओबी समूहका सदस्यसहित १२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरले जेन-जी आन्दोलनको मौका छोपेर आपराधिक गतिविधिमा संलग्न २३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक भारतीय नागरीक र हातहतियार कसुरका संलग्न एक बाहेक अन्यलाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले बताउनुभयो । अहिले ललितपुर प्रहरीले फेरि आपराधिक घटनामा संलग्नहरुको खोजी तीव्र पारेको छ ।

यता जिल्ला प्रहरी परिसर भक्तपुरले २४ गतेको आपराधिक उभद्रोमा १० जनालाई पक्राउ गरे पनि गृह मन्त्रालयको निर्देशनपछि हाजिरी जमानीमा छाडेको थियो । पछिल्लो समय भने भदौ २४ को आपराधिक घटनामा संलग्नहरुको खोजी जारी राखेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकार प्रकाश जबेगुले जानकारी दिनुभयो ।

उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीले तोडफोड, आगजनीलगायतका आपराधिक क्रियाकलापमा संलग्नमाथि निगरानी भइरहेको र कारबाहीको दायरामा ल्याउने गरी काम गरिरहेको बताउनुभयो ।

भदौ २४ गते देशभरबाट प्रहरीका ११ सयभन्दा बढी हातहतियार लुटिएका थिए । तीमध्ये ५ सय २५ थान हतियार प्रहरीले फेला पारिसकेको छ । बाँकी हतियारको समेत खोजी जारी रहेको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीले फरार भएका ५ हजारभन्दा बढी कैदीबन्दीको समेत खोजी गरिरहेको छ । हराएका हतियार र फरार कैदीबन्दी खोज्न ७ वटै प्रदेशमा विशेष टोली परिचालन गरिएको घिमिरेले बताउनुभयो । प्रहरीले उजुरी र प्राप्त भिडियोलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्नको खोजी गरेको हो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।