जेन जी आन्दोलनबाट पोखराको होटल क्षेत्रमा तीन अर्बको क्षति

दाङमा २ करोड ८२ लाखको क्षति
आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन जी आन्दोलनबाट पोखराको होटल क्षेत्रमा तीन अर्बको क्षति

भुपाल गुरुङ, कास्की / अमर क्षितिज भण्डारी, दाङ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक मात्रै नभई निजी सम्पत्ति, उद्योग कलकारखाना र व्यावसायिक प्रतिष्ठानमा समेत क्षति पु¥याइयो । जेन जी आन्दोलनबाट पोखराको होटल क्षेत्रमा तीन अर्बको क्षति पुगेको छ । त्यस्तै दाङमा पनि जिल्लाकै ठूलोमध्येको होटेल मालाइन र तुलसीपुरमा रहेको एमाले नेतासमेत रहेकी गायिका कोमल वलीको रिसोर्टमा तोडफोड र आगजनी भयो । यसले निजी क्षेत्रको मनोबल गिरेको छ । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखराको लेकसाइडस्थित होटल गुडविलमा आगजानी, तोडफोड र लुटपाट हँुदा करिब १२ करोडको क्षति भयो । एमालेबाट गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले पाँच वर्षअघि बैंकबाट ऋण लिएर ३२ करोडमा किनेको ४३ कोठे होटल गुडविल आगजानीबाट पूर्णरूपमा क्षति भयो । अहिले होटलको पुर्ननिर्माण चलिरहेको छ । आठ करोडको मात्र इन्सुरेन्स रहेको होटल पुर्ननिर्माणका लागि इन्सुरेन्स कम्पनी र सरकार कसैबाट रकम नआएको होटल गुडविल, पोखराका सञ्चालक गणेशमान गुरुङले बताउनुभयो ।

भदौ २४ गते लेकसाइडकै पाँचतारेस्तरको होटेल सरोवरमा तोडफोड, आगजनी र लुटपाट भयो । होटेलमा करिब ६५ करोडको क्षति भएको छ । १२ तल्ले होटलका ९६ मध्ये ६० वटा कोठामा पाहुना रहेकै अवस्थामा आगजनी हुँदा पाहुना त निकालियो तर होटल दुई दिनसम्म जलिरह्यो । करिब १ अर्ब २५ करोड लागतमा सात वर्षअघि सञ्चालन आएको होटलको पूर्ण इन्सुरेन्स त छ तर अहिले पुर्ननिर्माणका लागि रकम नपाएकाले ऋण लिएर काम भइरहेको होटल सरोबर पोखराका सञ्चालक भरत पहारी बताउनुहुन्छ ।

आन्दोलनका बेला ठूलो क्षति गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले भोग्नुपर्यो । उहाँ बस्ने नयाँबजारस्थित दुईवटा घरसहित लेकसाइडका दुई होटल खरानी भए । बगैँचा रिसोर्ट, अंशुभारा बिल्डिङ र दुई घर गरि थापालाई करिब एक अर्बको क्षति भएको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बताउनुभयो ।

मन्त्री थापाकै भाइ ध्रुव थापाको नयाँबजारस्थित घर र गाडीको शोरुम पूर्णरूपमा जल्यो । यीबाहेक पोखराका धेरै व्यक्ति, संघसंस्थाका भवनहरू आगजानी र तोडफोड भए ।

दाङ २ करोड ८२ लाखको क्षति 

त्यस्तै दाङको घोराहीस्थित मालाइन होटेलमा तोडफोड र आगजनी हुँदा २ करोड ८२ लाखको क्षति भएको छ । त्यसैगरी तुलसीपुरमा गायिका कोमल वलीले सञ्चालन गरेको कोमल रिसोर्टमा पनि तोडफोड र आगजनी हुँदा झण्डै तीन करोडको क्षति भयो । मालाइन होटेल आंशिकरूपमा सञ्चालनमा आए कोमल रिसोर्ट अझै सञ्चालनमा आउन सकेको छैन । यति ठूलो व्यक्तिगत सम्पत्तिमा नोक्सानी हुँदा सरकारको कुनै पनि प्रतिनिधिले के भयो कस्तो छ भनेर सान्त्वनासमेत नदिएपछि दण्डहीनतालाई प्रश्रय दिने काम भएको हो कि भन्ने चिन्ता होटेल सञ्चालकलाई परेको छ । त्यसैले कहीँकतै उजुरी गर्न मन नलागेको होटेल मालाइन, दाङका प्रमुख ओविन्द्रबहादुर महराले बताउनुभयो ।

आन्दोलनको एक महिना बितिसक्दा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नेहरूका भिडियो फुटेजहरू सामाजिक सञ्जालभरि भेटिन्छन् । तर  जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रवक्ता चक्बहादुर शाह भनेमाथिको आदेश कुरेर बसिरहेको बताउँनुहुन्छ ।

ऋण सापट गरेर व्यवसायमा करोडौं करोडौं लगानी गरेको निजी क्षेत्रले गरी थुप्रैलाई रोजगारी दिइरहेको छ । जिल्ला तहको प्रहरी प्रशासन माथिको आदेश पर्खिरहने र माथिल्नो निकायले ठोस कदम नचाल्ने परिस्थितिका कारण उद्योगी व्यवसायीहरू चरम निराशामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.