एमाले जिल्ला नेतृत्वमा पनि अध्यक्ष ओली पक्षकै एकलौटी

माघ १, २०७८
एमाले जिल्ला नेतृत्वमा पनि अध्यक्ष ओली पक्षकै एकलौटी

नेकपा एमालेको अधिकांश जिल्ला नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली पक्षले कब्जा गरेको छ । सहमति नाममा सबैजसो जिल्लामा एकपक्षीय ढंगले नेतृत्व चुनिँदा कतै त ओली पक्षबाहेकका नेता उम्मेद्वार नै बन्न सकेनन् । 

एमाले अध्यक्ष ओलीले अघिल्लो शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाट ६३ जिल्लाको अधिवेशन एकैसाथ भर्चुअल रुपमा उद्घाटन गरेका थिए । योबीचमा एमालेले ६८ जिल्ला र दुई भूगोल गरी ७० वटा जिल्लामा पाँच बर्षका लागि नयाँ नेतृत्व चुनिँदा २३ वटामा मात्रै प्रतिष्पर्धा भयो । ती मध्ये सबैजसो अधिकांश अध्यक्ष ओली पक्षकै छन् । अझ धेरैजसो त ओलीकै विश्वासपात्र छन् । 

हुन त ओलीले अधिवेशन उद्घाटन गर्दा नै सहमतिमा नेतृत्व छान्न निर्देशन दिएका थिए । त्यसैलाई शिरोपर गर्दै उनी निकटहरुले सबैजसो जिल्लामा अध्यक्षदेखि पदाधिकारी र सदस्य समेत एकलौटी जस्तै गरे । कतै सहमति भन्दै एकपक्षीय रुपमा नाम पढेर नेतृत्व घोषणा गरियो । कतै कतिपय पुराना नेता र विगतमा फरक धारमा रहेकाहरु उम्मेद्वार बन्न समेत नसक्ने परिस्थिति बनाइयो । कोही उम्मेदवार नराम्रोसँग  पराजित भए । 

खासगरी १० बुंदे सहमति गरेर पार्टीमा बसेकाहरुलाई राजनीतिक रुपमा उठ्नै नसक्ने बनाइएको छ । माओवादी केन्द्रबाट समाहित भएकाहरुको उपस्थिति पनि कमजोर छ ।  केन्द्रमा जसरी अध्यक्ष ओलीले आफूले चाहेका र आफ्नो गुटलाई संस्थागत गरे, त्यसरी नै जिल्लामा पनि ओलीमाथि औंला उठाउँदा राजनीतिक भविश्य नै सकिन्छ भन्ने अवस्थालाई संस्थागत गरिएको छ । यस्तो प्रवृतिले एमालेलाई बलियो बनाउँला कि झनै कमजोर पार्छ, त्यो बिस्तारै देखिन थाल्नेछ । 

Enter Kantipur TV HD
Advertisement