अर्को वर्ष माध्यामिक शिक्षाको परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने

श्रावण २२, २०७९
अर्को वर्ष माध्यामिक शिक्षाको परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने

आगामी वर्षबाट माध्यामिक शिक्षा कक्षा १० एसइइको परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने भएको छ । तर प्रश्नपत्र र प्रमाणीकरणको काम भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने गरि नियमावली संशोधन गरिएको छ । प्रदेशको अधिकार कटौती गरेको भन्दै विज्ञले यो व्यवस्थाप्रति आपत्ति जनाएका छन् । 

सबै प्रदेशमा एकै पटक वा छुट्टाछुट्टै रुपमा एसइइको परीक्षा सञ्चालन गर्न सकिने नियमावलीमा उल्लेख छ । त्यसका लागि प्रत्येक प्रदेशले परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्नेछन् । तर परीक्षा सञ्चालनका लागि कतिपय प्रदेशमा भौतिक पुर्वाधार, प्राविधिक जनशक्ति, क्षमताको कमीका कारण एसइइमा नयाँ व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

त्यसो त संघीयता कार्यान्वयनसँगै शिक्षा ऐन र नीतिमा एसइइ परीक्षा सञ्चालनदेखि प्रमाणीकरणको अधिकार प्रदेशलाई दिइएको छ । परीक्षा बोर्डले एकरुपता र स्तरको बहाना बनाएर परीक्षाको त्यो अधिकार कटौती गरेको हो ।  संघीयताको मर्म र कानून अनुसार एसइइको सबै अधिकार प्रदेशलाइ नै दिनुपर्ने विज्ञको बुझाइ छ । 

हरेक वर्ष एसइइ परीक्षा करिव ५ लाख विद्यार्थी सहभागी हुँदै आएका छन् । एसइइको नतिजाले विद्यालय शिक्षाको सिकाइ कमजोर देखाएपनि गुणस्तर सुधारका लागि सरकारी तहबाट पहल हुन छाडेका छन् ।