सल्यानको कालिका प्राविमा पढाईसँगै खेती गर्न सिकाइँदै

श्रावण २१, २०७९
सल्यानको कालिका प्राविमा पढाईसँगै खेती गर्न सिकाइँदै

केही सिक्न, पढ्न र भविष्यमा केही राम्रो काम गर्नकै लागि बालबालिका विद्यालय जाने गर्दछन् । सामान्यतः विद्यालयमा पुस्तक पढाइ हुन्छ । तर, सल्यानको एक विद्यालयमा भने बालबालिकालाई पढाई मात्र होईन खेती गर्नसमेत सिकाईन्छ । छत्रेश्वरी गाउापालिका-५ लेख पोखरा स्थित कालिका प्राथमिक विद्यालयका विद्यार्थीले सिजनअनुसार विद्यालय परिसरभित्रै खेती गर्दै आएका छन् ।

हरेक दिन १० बजे सबै बालबालिका आफ्नो कक्षा कोठामा पस्छन् र किताव निकालेर पढ्न थाल्छन् । केहीबेरको अध्ययनपछि सबै जना एकैसाथ काम गर्न निस्कन्छन् । उनीहरुको सिकाइ पढाईसागै खेतीपातीको काम गर्नु पनि हो । विद्यालय प्राङ्गणमै धान, मकै, अदुवा र बेसार खेती गरिादै आएको छ । पढाईसँगै कृषिको काम गर्दा बालबालिका पनि खुसि छन् । 

८८ बालबालिका अध्ययनरत यो विद्यालयमा सैद्धान्तिक ज्ञानको माध्यमबाट भन्दा पनि व्यवहारिक र जीवनउपयोगी शिक्षालाई पहिलो प्राथमिकता राखिएको छ । प्राथमिक तहबाटै कृषि र जीवन उपयोगी शिक्षा दिन सके भविष्यमा बेरोजगार भएर बस्नुपर्ने अवस्था नआउने विद्यालयको भनाइ छ ।

करेसाबारीमा उत्पादित तरकारीले विद्यार्थीलाई दिवा खाजा व्यवस्थापनमा समेत सहज भएको छ । 

त्यति मात्र होइन, विद्यालयले पुराना लोप हुन लागेका ग्रामीण क्षेत्रमा पाइने सामग्रीलाई संग्रहालय बनाएर राखेको छ । हराइसकेका र हराउन लागेका सामग्रीको ज्ञान होस् भनेर विद्यालयमै संग्रहालय बनाइएको हो । 

यो विद्यालयले गरेको कामको चर्चा हुने क्रम बढेको छ । अहिले अरु विद्यालयका शिक्षक तथा विद्यार्थीसमेत अवलोकन गर्न पुग्ने गरेका छन् ।