पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अन्योलमा

असार १०, २०७९
पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अन्योलमा

पाँच वर्ष अघि गण्डकी प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजना भनी घोषणा गरेको पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अलपत्र परेको छ । झन्डै डेढ अर्ब रुपैयाँको लगानीमा बनाउने लक्ष्य राखिएको रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन -डि पि आर तयार भएको तीन वर्ष भइसक्दा पनि काम सुरु हुन सकेको छैन ।

प्रदेश सरकारले रंगशाला निर्माणका लागि पोखराको पशुपतिघाटमा १ सय ७४ रोपनी जग्गा संघीय सरकारबाट प्राप्त गरिसकेको छ । तर लगानी स्रोत जुटाउन नसक्दा रंगशाला निर्माण कार्य अघि बढेको छैन । प्रदेश सरकारको यो आर्थिक वर्षको बजेटमा रंगशाला निर्माण प्रथामिकता मै परेन । यस अघि बर्सेनी रकम विनियोजन भए पनि काम हुन सकेको थिएन । 

रंगशाला निर्माण भएपछि पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सहज हुने अपेक्षा छ । तर काम अघि नबढ्दा आयोजनाको लागत र समय लम्बिने देखिएको छ । जग्गा प्राप्ति गरि डिपिआरसमेत भइसक्दा त्यसपछि बजेट नै विनियोजन  हुन छोड्नुले कतै प्रदेश सरकार यो योजनाबाट पछि हटेको त हैन भन्ने आशंका खेल सम्बद्ध व्यक्तिहरुले गर्न थालेका छन् । 

१८ हजार दर्शक क्षमताको रंगशालामा टी-२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सात वटा पिचसहित अन्य पूर्वाधार तयार पारिने डीपीआरमा उल्लेख छ । तीन वर्ष अघि करिव १६ लाख रुपैयाँ खर्चेर डिपिआर तयार गरे पनि त्यसपछि सरकार कै प्राथमिकतामा नपर्दा राज्यको लगानी बालुवामा पानी हुने हैन भन्ने चिन्ता थपिएको छ । 


Enter Kantipur TV HD
Advertisement