‘सहकारीपीडितको कथामा फिल्म बनाएँ, उनीहरू नै हेर्न आएनन्’

असार १३, २०८२ |सुरेन्द्र कट्टेल
‘सहकारीपीडितको कथामा फिल्म बनाएँ, उनीहरू नै हेर्न आएनन्’

काठमाडौं । प्रेम कथा हुँदै अहिले सामाजिक विषयवस्तुमा आधारित चलचित्रतर्फ केन्द्रित हुन थालेका छन् निर्देशक दिनेश राउत । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता प्रेम कथा निर्देशन गरेका राउतले पछिल्लो पटक ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक राजनीतिक विषय उठान गर्ने चलचित्र बनाए । 

उनै राउतको निर्देशनमा बनेको सहकारीको रकम अपचलनको कथामा आधारित चलचित्र ‘महाभोज’ अहिले प्रदर्शनरत छ । यसै सन्दर्भमा कान्तिपुर टेलिभिजनकर्मी सुरेन्द्र कट्टेलले ‘महाभोज’को प्रचार शैलीदेखि राउतको रूझानसम्म विविध विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाईंको निर्देशनमा बनेको ‘महाभोज’ अहिले प्रदर्शनरत छ । व्यावसायिक पाटो कस्तो भइरहेको छ ?

कथावस्तुका हिसाबले राम्रो भए पनि व्यावसायिक हिसाबले सफल हुन सकिरहेको छैन । अपेक्षाअनुसार दर्शक हलसम्म नआउनुको कारण म आफैं खोजिरहेको छु । तर, चलचित्र हेर्नेजतिले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसमा म सन्तुष्ट छु ।

अखबार र समाचारमा पटक पटक आए पनि चलचित्रमा नउठाइएको फरक विषयमा ‘महाभोज’ बनाउनुभयो । के कुराले प्रेरित गर्‍यो ?

मेरो करिअरको सुरूआतमा म म्युजिकल लभ स्टोरी चलचित्रमा काम गर्न चाहन्थें । तर, समयक्रमसँगै रूपान्तरण हुँदै जाँदा सामाजिक कथावस्तुमा पनि काम गर्न थालियो । समाजभित्र भएको असन्तुष्टि, समाजमा भएका समस्याले आफैंभित्र उब्जिएको असन्तुष्टिलाई आफ्नै पेशाबाट प्रस्तुत गरौं भन्ने सोचेर ‘महाभोज’सम्मको यात्रा तह भयो । वर्तमान राजनीतिक अवस्थाले पारेको प्रभाव यस चलचित्रमा छ । ‘पुजार सार्की’पछि अर्को चलचित्रको काम गर्ने तयारी गरिरहँदा ‘महाभोज’का लेखकसँग अहिलेको सहकारीपीडितको कथा चलचित्रबाट भनौं भन्ने छलफल भयो त्यसै अनुरूप यो चलचित्रको निर्देशन गर्ने तय भयो ।

‘महाभोज’को प्रचारमा पनि नयाँ शैली अपनाउनुभयो नि । किन हो ?

नयाँ शैली भन्दा पनि चलचित्रको लक्षित दर्शकलाई प्राथमिकतामा राखेर प्रचार गर्दा सहकारीपीडितमाझ गएर प्रचार गरेको हो । सहकारीसँग जोडिएका व्यक्तिसम्म चलचित्र पुर्‍याऊँ भन्ने थियो । दुःखको कुरा उहाँहरू नै ‘महाभोज’ हेर्न आउनुभएन । दर्शकले सिनेमालाई विषयवस्तु उठानभन्दा पनि मनोरञ्जनको माध्यमको दृष्टीकोणबाट मात्रै हेर्नु हुने रहेछ ।

चलचित्रको शीर्षक चाहिँ कसरी जुराउनुभयो ?

यो एउटा विम्बको रूपमा राखिएको नाम हो । सहकारीमा जम्मा गरेको पैसा अपचलन गरेर महाभोज गर्ने प्रवृतिलाई विम्बको रूपमा नाम राखिएको हो । गरिबको पैसा दुरुपयोग गरेर सत्तामा पुगेपछि कसरी भोज गर्दै मोज गरेका छन् त्यसलाई नै महाभोज भनिएको हो ।

चलचित्रको कथा काल्पनिक हो कि वास्तविक ?

समाजमा उठिरहेको विषय भए पनि वास्तविक होइन । कथा र पात्र काल्पनिक नै हो । सहकारीको समस्या, अपचलन अहिले सतहमा आए पनि समस्या पहिलेदेखिकै हो । नेपालमा एकै धारमा मात्र नरहेर विभिन्न धारका मौलिक चलचित्र बन्नुपर्छ । मनोरञ्जनलाई मात्र सोचेर भन्दा समसामयिक विषयले सिर्जना गर्ने विभिन्न पाटोलाई हेर्न बुझ्न, प्रश्न गर्न र सचेत रहनलाई 'महाभोज' हेर्न आग्रह गर्छु । 


Image

सुरेन्द्र कट्टेल

सुरेन्द्र कट्टेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।